कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार बस्ने

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ । 

सङ्घीय संसद्को अधिवेशन जारी रहेको भए पनि प्रतिपक्षी नेकपा (एमाले) को लगातार अवरोधका कारण नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार आइतबार बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो ।

सङ्घीय संसद्को बैठक आइतबार १ः०० बजेका लागि बोलाइएको छ । बैठकको सम्भावित कार्यसूचीमा शहीद दिवसका अवसरमा सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यसूची रहेको छ । 

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/७८’ पेस गर्नुहुने छ ।

यस्तै, सभामुख सापकोटाले विसं २०६४ को संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाप्रति श्रद्धाञ्जली अर्पण गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ६ : २७ बजे