रकम अभावमा कोरोना परीक्षण प्रयोगशाला बन्द

तम्घास – गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ । सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो । 

    कोरोना माहामारीको सुरुआतमा नै भैरहवासम्म स्वाब पठाउनुपर्ने हैरानीले जिल्लाका स्थानीय तहले प्रयोगशाला सञ्चालन गरेका थिए । खर्च थेग्न नसकेपछि प्रयोगशाला बन्द गर्नुपरेको गुल्मी अस्पतालका प्रमुख डा उत्तम पच्याले जानकारी दिनुभयो  । विसं २०७७ असोज ७ गतेदेखि सुरु गरिएको प्रयोगशाला एक वर्षमात्रै सञ्चालन भयो ।  

    उक्त अवधिमा रु ७१ लाख खर्च भएको थियो । सङ्घीय सरकारले रु १५ लाख तथा जिल्लाका स्थानीय तहले रु ५६ लाख प्रदान गरेका थिए । प्रयोगशालाको भौतिक र प्राविधिक व्यवस्थापनमा रु एक करोड ९७ हजार खर्च भएको अस्पतालले जनाएको छ । प्रयोगशाला बन्द भएसँगै स्वाब भैरहवा पठाउनुपर्ने र रिपोर्ट ढिला आउने हुँदा जिल्लामा पिसिआर परीक्षण गर्न सकिएको छैन । कोभिड–१९ का सम्भावित बिरामीको जिल्ला अस्पतालमै एन्टिजेन परीक्षण गरिँदै आएको छ । रु ४० लाख जुटाउनसके प्रयागशाला नियमितरुपमा प्रयोगमा ल्याउन सकिने अस्पतालले जनाएको छ । 

रासस

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ५ : ०७ बजे