निर्वाचनका विषयमा सत्ता गठबन्धनमा सहमति जुटेन, आजै पुनः अर्को बैठक बस्ने

काठमाडौँ ।  वैशाखमा नै स्थानीय तहको निर्वाचन गराउन चौतर्फी दबाब बढिरहेका बेला निर्वाचन मितिको विषयमा सहमति जुटाउन आज बिहान बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा संसदीयभन्दा पहिले नै स्थानीय निर्वाचन गराउनेबारे छलफल भए पनि स्थानीय चुनाव कहिले गर्ने भन्नेबारे कुनै सहमति हुन नसकेपछि बिना निष्कर्ष सकिएको हो । 

बैठकमा स्थानीय चुनाव गराउनेबारे छलफल भए पनि कहिले गर्ने भन्ने टुङ्गो नलागेको तर छलफल सकारात्मक ढंगले अघि बढेको नेताहरूले बताएका छन् । 

निर्वाचनको मिति घोषणाका बारेमा थप छलफल गरी  सहमति जुटाउन सत्ता गठबन्धनको अर्को बैठक आजै अपराह्न पुनः ४:०० बजे बस्ने भएको छ ।

निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटक पटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति जुट्न नसक्दा निर्वाचनको मिति घोषणा हुन सकेको छैन ।

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १२ : ०८ बजे