आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बेलायती वैज्ञानिकले बनाए सस्तो कोरोना परीक्षण यन्त्र

काठमाडौँ । बेलायतका वैज्ञानिकले कोरोना परीक्षण गर्ने सस्तो यन्त्र ‘ल्याब इन द ब्याकप्याक’ निर्माण गरेका छन् । 

यो मोबाइल किटले सार्स कोभ–२ पत्ता लगाउन निकै सहज हुने पनि दाबी गरिएको छ । वैज्ञानिकहरुले यो सानो मोबाइल किटको कुल लागत ५१ अमेरिकी डलर रहेको पनि जानकारी दिएका छन् ।

सस्तो र सानो समेत हुनाले यो किट गरिब देशमा र दूरदराजका स्थानमा लैजान समेत सहज हुने विश्वास गरिएको छ । 

संसारका कतिपय स्थानमा अहिले पनि प्रयोगशाला छैनन्, दक्ष जनशक्तिको अभाव उत्तिकै छ । यो किटको मद्दतले वैकल्पिक परीक्षण हुने उहाँहरूको भनाइ छ ।

लन्डनस्थित क्विन मेरी विश्वविद्यालयका प्राध्यापक स्टोयन स्मोकोभले भन्नुभयो, “हामी यो मोबाइल ल्याबको कोभिड–१९ परीक्षण क्षमता र यो किटको सस्तो प्रविधिलाई सार्वभौम बनाउने सम्भावनालाई लिएर निकै उत्साहित छौँ ।”

उहाँका अनुसार, मानिसहरूले यो किटको मद्दतबाट नियमित रूपमा आफ्नो रगत र पिसाब पनि परीक्षण गर्न सक्ने छन् । तथापि, यो किट विकसित गर्नुको मुख्य उद्देश्य भने कोरोना परीक्षणलाई सर्वव्यापी बनाउनु रहेको उहाँको भनाइ छ । ‘ल्याब इन द ब्याकप्याक’ले सस्तो र सहज परीक्षणमा मद्दत पुग्ने उहाँको विश्वास छ ।एजेन्सी

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : ५८ बजे