स्थानीय निर्वाचन मिति घोषणाको अन्योलताबीच सत्ता गठबन्धनको बैठक बस्दै

​​​​​​काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित भएको छ ।

निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटक पटक राय दिँदा पनि सत्ता गठबन्धनमान सहमति नजुट्दा घोषणा हुन सकेको छैन ।

पछिल्लो पटक संविधानसँग बाझिएका कानुन संशोधनको दाबी गरेको गठबन्धनको बैठक आज बस्दै छ । शनिवार बिहान ९ः०० बजे गठबन्धनको बैठक बोलाइएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो । 

काँग्रेस केन्द्रीय कार्यसमितिको शुक्रवारको बैठकमा महामन्त्री गगन थापाले स्थानीय तहको चुनावलाई लिएर गठबन्धनले अघि सारेको विकल्प संविधानसम्मत नभएको बताइसकेका छन् ।

तर, माओवादी केन्द्र र एकीकृत समाजवादी भने पहिले सङ्घको निर्वाचन र त्यसपछि स्थानीय तहको निर्वाचन चाहन्छन् ।उनीहरू वैशाखमा स्थानीय निर्वाचन गर्न नहुने पक्षमा रहँदै आएका छन् । त्यसैले संविधान र ऐनमा एकरूपता ल्याउने भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने गृहकार्यमा गठबन्धन छ ।

 

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : ४१ बजे