भारतले महाकालीमा बनाइरहेको तटबन्ध अभिलम्ब रोक्न एमाले नेताद्धारा सरकारको ध्यानाकर्षण

​​​​​​​काठमाडाैँ ।  ​​​​​​​महाकाली नदी थुनिने गरी भारतले बनाइरहेको तटबन्धका बारेमा नेकपा एमालेका नेताद्वारा सरकारको ध्यानाकर्षण गराएको छ ।  

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य, प्रतिनिधि सभाका सांसद तथा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले परराष्ट्रमन्त्री नारायण खड्का मार्फत भारतले जारी राखेको निर्माण रोक्न ध्यानाकर्षण गराउनु भएको हो । भारतीय पक्षले नदीको प्रवाह प्रभावित हुनेगरि तटबन्ध निर्माण गरिरहेको र उक्त कार्य अभिलम्ब रोक्न नेपाल सरकारले भारत सरकारसँग सार्थक पहल गरोस् भन्दै माग गर्नुभएको छ ।

उहाँले जारी गरेको पत्रमा भनिएको छ – ‘उपरोक्त सम्बन्धमा ०७० सालको बाढीबाट दार्चुला सदरमुकाम लगायत अन्य क्षेत्रमा ठुलो जनधनको क्षति भएको कुरा सर्वविदितै छ! उक्त बाढी पछि नेपाल तर्फ नेपाल सरकारले र भारत तर्फ भारत सरकारले तटबन्ध निर्माण गरि बजार संरक्षण कार्य गरेको थियो! तर हाल आएर भारत सरकारले पुराना तटबन्ध निर्माण गरेको ठाँउभन्दा ७ देखि १० मिटर सम्म भित्र नदि क्षेत्रमा तटबन्ध निर्माण कार्य संचालन गरिरहदा नदीको प्रवाहमा असर पर्न गई भविष्यमा ठुलो जनधनको क्षति हुने सम्भावना रहेको छ! सिमा नदीमा तटबन्ध निर्माण गर्दा निश्चित अन्तराष्ट्रिय मान्यताहरु पालना गर्नुपर्नेमा शो नगरि एकतर्फी रुपमा तटबन्ध निर्माण कार्य संचालन भईरहेकोले अभिलम्ब भारत सरकार मार्फत पहल गरि उक्त कार्य रोक लगाउन र दुई देशका प्रतिनिधि सम्मिलित टोलीको प्रतिवेदन अनुसार मात्र निर्माण कार्य अगाडी बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक पहलको लागि माग गर्दछु !’ 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ४ : २१ बजे