चुनाव टार्ने प्रपञ्च गर्दै सत्ता गठबन्धन : सचिव विष्ट

काठमाडौं । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले सत्ता गठबन्धन लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत सचिव विष्टले निर्वाचन आयोगले आगामी वैशाख महिना भित्रै सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गर्न पटक पटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको बताउनु भएको हो । उहाँले स्थानीय निर्वाचनमा आउन सक्ने परिणामबाट तर्सिएर गठबन्धन चुनाव नै सार्न लागि परेको आरोप लगाउनु भएको छ ।

नेता विष्टले स्थानीय तहको चुनावको घोषणा तत्काल गर्न माग गर्दै चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरूबाट संविधान, लोकतन्त्र र जनदेशको संरक्षण हुन नसक्ने बताउनु भएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १२ : २६ बजे