प्रधानन्यायाधीशद्वारा आज दाेस्राे पटक न्याय सेवा आयोगको बैठक आह्वान

काठमाडौँ । नेपाल बार एसोसिएसनको लगातारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दोस्रो पटक आजका लागि न्याय सेवा आयोगको बैठक बोलाउनुभएको छ।  

यसअघि पुस ६ गते बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो । तर, नेपाल बारको असहमतिका बाबजुद प्रधानन्यायाधीश राणाले आज दिउँसो २ः०० बजेका लागि बैठक बोलाउनुभएको हो।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ । 

कानुन मन्त्री बडू कोरोना सङ्क्रमणपछि आइसोलेसनमा हुनुहुन्छ । 

अध्यक्ष र अन्य दुई जना सदस्य उपस्थित रहेमा गणपूरक सङ्ख्या मानिने र बहुमतले निर्णय गर्न सकिने न्याय सेवा ऐन २०७३ मा उल्लेख छ ।  खुल्ला प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशको नतिजालाई अनुमोदन गरेर अन्तर्वार्ता समिति गठन गर्ने कार्यसूची आजको बैठकको रहेको छ ।

 

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ८ : ०८ बजे