दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

चाँदीका गरगहनासहित दुई जना पक्राउ

भरतपुर । चितवनमा चाँदीका विभिन्न गरगहनासहित दुई जना पक्राउ परेका छन् । 

भरतपुर विमानस्थलबाट चाँदीका गरगहनासहित उनीहरूलाई मङ्गलवार पक्राउ गरिए पनि बुधवार मात्र प्रहरीले घटना सार्वजनिक गरेको हो । 

विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोलीले कार्गोमार्फत काठमाडौँ पठाउने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरञ्गज महानगरपालिका–१५ बस्ने वर्ष ३० का ओमप्रकाश साह सोनार र बारा नरही–६ घर भई हाल वीरगञ्ज–१६ बस्ने वर्ष ३२ का अजय कुमार सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।

उनीहरूले कपडाको झोलामा उक्त चाँदीका गरगहना काठमाडौँ पठाउन लागेका थिए । एक्स–रे मेसिनमा झोला राखेर जाँच गर्दा मेटलका चिजबस्तु रहेको पाइएपछि सो सामानलाई जाँच गर्दा चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न किसिमका गरगहना फेला परेको थियो । उक्त गहना २४ किलो ९६० ग्राम रहेको प्रहरीले जनाएको छ ।

यस्तै गरगहनासँग सम्बन्धित बिलसमेत शङ्कास्पद रहेका पाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ८ : ०० बजे