फुसको छाना हटाउने अभियानमा वडाध्यक्षको मनपरी, छानबिन गर्न एमालेको माग

खोटाङ । खोटाङको ऐसेलु खर्क गाउँपालिका–२ बाकाचोलस्थित एमाले वडा कमिटीले वडामा फुसको छाना हटाउने अभियानमा मनपरी भएको दाबी गरेको छ । 

फुसको छाना हटाउने र जस्तापाताको छाना हाल्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सूचीकरणमा परेका ४१ लाभग्राहीमध्ये अधिकांशलाई रकम निकासा दिन आलटाल भइरहेको एमालेले जनाएको छ । 

एमाले वडा कमिटी अध्यक्ष नन्दकुमार तामाङले विज्ञप्ति जारी गर्दै सूचीकरणमा परेका लाभग्राहीलाई ओझेलमा पारेर निकासा दिन विभिन्न बहानावाजी गरिएको तर जस्ताको छाना हालिसकेका केही घरलाई रकम निकासा दिइएको दाबी गर्नुभएको छ।

 ‘फुसको छाना हटाऊ’ अभियानको सूचीकरणमा नपरेका घरलाई जस्ताको छाना हाल्नका लागि रकम दिएको खुलासा भएको भन्दै एमाले वडा कमिटीले सो बारेमा छानबिन गरी वास्तविक लाभग्राहीलाई तत्काल जस्तापाता उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ । 

तीन वर्षअघि बगाले–सिरु डाँडा–पारा सडक निर्माणका लागि १० लाख बजेट छुट्याइएको भए पनि उपभोक्ता समितिका अध्यक्ष रमेश राई र वडाध्यक्ष सन्तवीर तामाङले ७–८ लाखको काम गरेर बाँकी रकमको काम हालसम्म नगरेको एमाले वडा कमिटीका अध्यक्ष तामाङले बताउनुभयो । बाँकी रकमको काम गर्न र गराउन पालिकामा कबुलियतनामा गरे पनि सो अनुसार काम नगरिएको भन्दै विज्ञप्तिमा ध्यानाकर्षण गराइएको छ । 

एमालेले अर्थ मन्त्रालयको गत २५ कात्तिक र ऐसेलु खर्क गाउँपालिकाको २० पुसको पत्र अनुसार वडाका विपन्न परिवारलाई समावेशी र समान किसिमले कोभिड राहत वितरण गर्न माग गरेको छ । 

अर्थ मन्त्रालय र गाउँपालिकाको पत्र अनुसार हालसम्म वडावासीलाई सूचना नदिई कोभिड राहत वितरणमा आलटाल भइरहेको एमालेको आरोप छ ।

बादेल–बिस्काम जोड्ने सडक जोड्नका लागि आर्थिक वर्ष २०७७–०७८ मा सङ्घीय संसद् विकास कोषबाट १० लाख विनियोजन गरिए पनि वडाध्यक्ष तामाङले सिफारिस नदिँदा सो काम हुन नसकेको उल्लेख गर्दै एमाले वडा कमिटीले सो सडकलाई चालु आर्थिक वर्षभित्रै जोड्नका लागि विचार–विमर्श गर्न गाउँपालिकाको ध्यानाकर्षण समेत गराएको छ ।

 

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ७ : २४ बजे