भूगर्भ विभागका महानिर्देशक सहित १८ जना विरुद्ध १ अर्ब २४ करोड विगो दावी गर्दै मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खनिज पदार्थ उत्खननमा अनियमितता गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र उपमहानिर्देशक जयराज घिमिरेसहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको  छ ।

आयोगले महानिर्देशक घिमिरे, उपमहानिर्देशक तथा प्रवक्ता जयराज घिमिरे तथा ९ वटा कम्पनीका सञ्चालकसहित १८ जना विरुद्ध १ अर्ब २४ करोडभन्दा बढी रकम विगो गरेको भन्दै  बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

चुनढुंगा उत्खननमा अनियमितता भएको आशंकामा अख्तियारमा उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको  थियो । खानी सञ्चालकसग मिलेर कर्मचारीले प्राकृतिक स्रोतसाधन दोहनमा सघाएको अख्तियारको ठहर छ । 
यसअघि पुस २६ मा मात्रै अख्तियारले वनका उपसचिव हेमराज विष्ट विरुद्ध करिब ७ करोड विगो मागदावी सहित विशेषमा मुद्दा दायर गरेको थियो ।

त्यसअघि मल खरिदमा भ्रष्टाचार गर्ने कर्मचारी र ठेकेदारमाथि पनि अख्तियारले मुद्दा चलाएको थियो । वनका कर्मचारीले त सरकारी सेवा प्रवेश गरेको २२ वर्षमा ८७ ठाउँमा जग्गा र २२ वटा घर बनाएको खुलेको थियो । सरकारी कर्मचारीहरू पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जनमा कसरी लाग्छन् भन्ने तथ्य उपसचिव विष्टमाथिको अनुसन्धानले पनि पुष्टि गरेको थियो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  २ : ३६ बजे