राष्ट्रिय जनगणना २०७८ : नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार

काठमाडौँ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । 

राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरणअनुसार प्रक्षेपित तीन करोडभन्दा करिब आठ लाख कम हुन पुगेको छ । 

अन्तिम नतिजामा यो विवरणमा सामान्य हेरफेर हुन सक्ने जनाइएको छ ।  विसं. २०६८ को जनगणनामा दुई करोड ६४ लाख ९४ हजार ५०४ जनसङ्ख्या रहेको थियो ।

अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसङ्ख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ । 

सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । प्रदेशगत रूपमा मधेस प्रदेशको जनसङ्ख्या सबैभन्दा बढी छ भने कर्णाली प्रदेशको कम देखिएको छ ।

आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले नेपाल दुई करोड ९१ लाख नेपालीको प्यारो ढुकढुकी रहेको जनगणनाबाट देखिएकाले यस कार्यमा संलग्न सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले आफूहरूले नेपालको नयाँ नक्सामा समावेश लिपुलेक, कालापानी र लिम्पियाधुरामा पनि गणना गरिएको तथा विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो ।

पत्रकारको प्रश्नमा महानिर्देशक श्रेष्ठले छोरा र छोरीमा विभेद न्यून हुँदै गएको तथा छोरा पाउनकै लागि सन्तान बढाउने प्रवृत्ति अन्त्य हुँदै गएकाले पनि अपेक्षाकृत रूपमा जनसङ्ख्या बढ्न नसकेको हुन सक्ने जनाउनुभयो । 

नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको हो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ११ : ०७ बजे