जङ्गली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु

दमक । जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ । 

दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो । 

वडाध्यक्ष नवीन बरालका अनुसार मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको हो । 

आक्रमणबाट उनको घटनास्थलमै ज्यान गएको थियो । दुम्से बस्ती हात्ती प्रभावित क्षेत्र मानिन्छ । दुई वर्षपछि दमकमा हात्तीले फेरि मान्छेको ज्यान लिएको वडाध्यक्ष बरालले बताउनुभयो । 

दमक अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द
​​​​​​​अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि झापाको दमकस्थित सरकारी अस्पतालको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । 

दमक अस्पतालका सूचना अधिकारी देवी दङ्गालका अनुसार आजदेखि शुक्रवारसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।

अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस क्षेत्रको स्वास्थ्य बिमाको प्रथम विन्दु दमक अस्पताल मानिन्छ । 

यस अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामीले बिमामार्फत उपचार सेवा पाउँदै आएका मेडिकल सुपरिटेन्डेण्ट डा.खड्ग लिम्बूले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : १८ बजे