युवा सङ्घ र अनेरास्ववियुले गर्‍यो प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुत्ला दहन

ताप्लेजुङ । युवा सङ्घ नेपाल र अनेरास्ववियु ताप्लेजुङले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री रेणुकुमारी यादवको पुत्ला दहन गरेका छन् ।

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री देउवाले आलटाल गरेको तथा मन्त्री यादवले हिंसात्मक कार्यलाई प्रोत्साहन दिने गरी दिएको अभिव्यक्ति विरुद्ध युवा सङ्घ र अनेरास्ववियुले संयुक्त रूपमा मङ्गलवार साँझ सदरमुकाम फुङ्लिङमा पुत्ला दहन गरेका हुनु।

एमाले पार्टी कार्यालयबाट सुरु भएको विरोध र्‍याली वीरेन्द्र चोकमा आएर पुत्ला दहनमा परिणत भएको अनेरास्ववियुका कार्यवाहक जिल्ला अध्यक्ष विवेक बानियाँले जानकारी दिनुभयो।

रौतहटको गौरमा गत बुधवार आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका कार्यकर्ताले गरिरहेको आन्दोलनको विरोध गर्दै गौर हत्याकाण्ड दोहोर्‍याउने अभिव्यक्ति दिनुभएको थियो । अहिले यसको सर्वत्र विरोध भइरहेको छ ।

युवा सङ्घका जिल्ला इन्चार्ज गोपाल न्यौपानेले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्न ढिलाइ गरे युवा सङ्घ त्यसको प्रतिरोधमा उत्रने चेतावनी दिनुभयो ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ७ : ४१ बजे