सरकारलाई प्रश्न : के साधन थन्काएर बसमा कोचिँदा कोरोनाबाट बचिन्छ ?

काठमाडौं । सधैँजसो खाली देखिने नारायण टार,जोरपाटी चोकमा अहिले मानिसहरूको भिडभाड देखिन्छ । यो भिड अरू कारणले नभई सकारले कोरोना रोकथामका लागि लगाएको जोर बिजोर प्रणालीको असर हो । 

सधैँजसो २०–२५ जना मानिस मुस्किलले भेटिने यो चोकमा अहिले सवारी साधन कुर्नेहरूको बाक्लो भिड देख्न सकिन्छ । 

जोरबिजोर प्रणालीका कारण सवारी साधनहरू कम भएसँगै यात्रुहरूको चाप ह्वात्तै बढ्दा बसपार्कमा भिड त बढेकै छ सवारी साधनमा समेत टेक्न नसक्ने अवस्था हुने गरेको  छ । आफ्नै सवारी साधन भएकाहरू पनि जोर बिजोर प्रणालीको मारमा  परिरहेको बताउँछन् । जस कारण उनीहरू कोरोना महामारीको समयमा बाध्य भएर एक दिन सार्वजनिक यातायातमा यात्रा गरिरहेका छन् । 

जोरपाटी  चोकमा आधा घण्टादेखि बस कुरिरहेका उमेश ढुङ्गाना सरकारप्रति आक्रोश पोख्दै जोर बिजोर प्रणालीले झन् भिडभाड बढाएको गुनासो गर्छन् ।  

‘सरकारले जनता बचाउन भनेर जोर बिजोर प्रणाली लागू गरेको हो भनेर कसरी पत्याउनु, घरमा आफ्नो भएको साधन राखेर यसरी भिडमा कोचिनु परेको छ’ उनले आक्रोश पोखे  । उनी सरकारले जनता बचाउन हैन सङ्क्रमित गराउन जोर बिजोर प्रणाली लागु गरेको बताउँछन् । ‘मेरो बाइक जोर हो । बिजोरको पालोमा म गाडीमा हिँड्नुपर्छ । कम्तीमा पनि म बाइकमा हिँड्दा कम जोखिममा थिए,यसरी हिँड्दा त कहिलेसम्म बचिएला र ? उनले थप आक्रोश पोखे  ।

आफ्नै साधन भएर पनि यसरी चोक चोकमा आधाघण्टाबढी सवारी साधन कुर्नु परेको भन्दै उनले सरकारले उल्टो सोचिरहेको बताए । 

सरकारले कोरोना नियन्त्रणका लागि भन्दै गत शुक्रवार रातिबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको छ । तर,जोर बिजोर लागू भए पनि अन्य सबै कामहरू भने जस्ताको तस्तै छन् । जस कारण मानिसहरू आफ्नो नियमित कामका लागि सास्ती खेप्न बाध्य हुनुपरेको बताउँछन् । 

काठमाडौं चाबहिलमा डेरा गरी बस्ने नारायण वाग्ले पनि ढुंगानाकै जस्तो सास्ती खेप्नु परिरहेको बताउँछन् । यसरी अन्य सबै सेवाहरू यथावत् राखेर जोरबिजोर प्रणाली राख्दा कोरोना सङ्क्रमण झनै बढ्ने वाग्लेले बताए । ‘सरसर्ती हेर्दा नियन्त्रण हैन झन् जोखिम बढेको देखिन्छ’, वाग्लेले  भने । कार्यालय सबै खोल्ने अनि जोर बिजोर लगाएर मात्र कोरोना नियन्त्रण हुन्छ ?’, उनले प्रश्न गरे ।  

कोरोनाको नयाँ भेरिएन्ट दिनानुदिन बढिरहँदा सवारी साधनको सङ्ख्यामा चाहिँ नियन्त्रण गर्नु थप भिडभाड बढाउन नै भएको काठमाडौं गौरीघाटका उमेश घिमिरेले बताए । 

यस्तो बेलामा सवारी साधन बढाएर सिट सङ्ख्यामा मात्र यात्रु बोक्नु पर्नेमा सरकारले गलत बाटो अपनाएको घिमिरेको बुझाइ छ । त्यसो त जोरबिजोर प्रणालीले सवारी साधनमा भिडभाड बढेको स्वंयम यातायात व्यवसायीहरू  र चालकहरू बताउँछन् । उनीहरू एक दिन मात्र सवारी चलाउनु पर्दा जर्वजस्ती यात्रु कोच्नु परिरहेको दुखेसो गर्छन् । सार्वजनिक यातायातमा यस अघि पाइलोसम्म नराखेको बताउने भक्तपुर राधेराधेका सुलभ दाहाल कार्यालय जानका लागि बाध्य भएर सार्वजनिक सवारी चढ्नु परेको पीडा पोख्छन् । आफ्नै नयाँ बाइक घरमा थन्काएर भीडमा कोचिनुपर्दाको सास्ती शब्दमै बयान गर्न नसक्ने उनी बताउँछन् । 

उनी अघिल्लो सरकारले सबै कार्यालयका सेवा बन्द गर्दा पनि भिड कम नभएपछि  जोरबिजोर लागू गर्नु ठिक गरे पनि  अहिले सरकारले सबै क्षेत्र खोलेर यातायातमा जोरबिजोर लगाउनु चाहिँ गलत गरेको बताउँछन् । 

नारायणटारमा निलो माइक्रो चलाइरहनुभएका विदुर खतिवडा सरकारले कोरोना नियन्त्रणका लागि बनाएको नियम आफैले उल्लङ्घन गरेकोमा दुःख व्यक्त गर्छन् । 

मन्त्रीहरूले ठूलो सङ्ख्यामा भीड गराएर पत्रकार सम्मेलन गर्नु त्यस्तो ज्वलन्त उदाहरण भएको उनको तर्क छ । ‘सरकार आफै नियम बनाउँछ आफै उल्लङ्घन गर्छ । अनि सर्वसाधारण जनताले भने सास्ती खेप्नु पर्ने ? उनले आक्रोश पोखे । ‘हामी त एक दिन काम गर्छौ त्यो पनि गाडी पुरै प्याक हुन्छ । बरु म यहाँभन्दा पहिला नै सुरक्षित थिए’,उनले भने । 

सरकारले कोरोना नियन्त्रणका लागि भन्दै जार बिजोर प्रणाली लागु गरे पनि नेपालमा दैनिक १० हजारभन्दा धेरै सङ्क्रमण थपिने गरेको छ । यसरी थपिने मध्ये आधा भन्दा धेरै काठमाडौँ उपत्यकामा रहेको मन्त्रालयले सार्वजनिक गर्ने तथ्याङ्कबाट थाहा हुन्छ । जोर बिजोर प्रणालीले सर्वसाधारणलाई साँच्चै नै मार पर्ने जानकारहरू बताउँछन् । जोर बिजोरले कोरोना सङ्क्रमणको जोखिम झन् बढेको उनीहरू बताउँछन् । कम्तीमा सबै सवारी सधान चलाएर सिट क्षमतामा मात्र यात्रु राख्नु पर्नेमा उल्टै यात्रुहरू खचाखच गराइएकोमा यात्रुहरू पनि आक्रोशित छन् । निजी कार्यालय र सरकारी कार्यालय खोलेर अझ आफ्नै साधनसमेत मानिसहरूले प्रयोग गर्न नपाएकोमा आम सर्वसाधारण पीडा  व्यक्त गर्छन् । जोर बिजोर प्रणालीले कोरोनाको निदान होला कि सङ्क्रमित झन् थपिएला भन्ने प्रश्न यत्तिखेर जनजनको छ  । 

 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ६ : ०६ बजे