निर्वाचन कार्यालयका सेवा स्थगित

कञ्चनपुर – कोरोनाको सङ्क्रमणबाट कार्यालयका कर्मचारी प्रभावित भएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले अर्को सूचना प्रकाशित नहँुदासम्मका लागि आजदेखि सेवा स्थगन गरेको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नियमित कामकाज गरिरहँदा कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोभिड–१९ प्रमाणित भएको र अन्य कर्मचारीमा समेत कोरोनाका लक्षण देखापरेको हुँदा सेवा स्थगन गरेको जनाएको छ ।

अर्को सूचना प्रकाशित नहुँदासम्म कार्यालयको आन्तरिक कामकाजबाहेक मतदाता नामावली सङ्कलन तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरिएको जारी सूचनामा जनाइएको छ । यसअघि निर्वाचन कार्यालयले मतदाता नामावली सङ्लन र अद्यावधिक कामका लागि टोकन प्रणालीमार्फत कार्य गर्दै आएको थियो ।

रासस

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ९ : २६ बजे