एनपीएलको ट्रफी सार्वजनिक

माध्यम भाषा, नेपालको शैक्षिक अभ्यास र परिणाम

​​​​​​​“शिक्षामा भाषा सबैथोक होइन, तर भाषाविना शिक्षामा सबै कुरा केही पनि होइन।” – एकेहार्ड वल्फ

शिक्षाको गुणस्तर विद्यार्थीको सिकाइसँग दाँज्ने होकि रटाइबाट आएको प्राप्ताङ्क थाहा नहुँदा नेपालमा माध्यम भाषा कुन भन्ने सवालमा हामी स्पष्ट हुन सकिरहेका छैनौं। अंग्रेजी मातृभाषा हुनेको अंग्रेजी र सिकाइको स्तर राम्रो भएको तथ्य देखाउँदै हाम्रो भाषाहरू छोडेर अंग्रेजीलाई माध्यम बनाउन हामीलाई प्रेरित गरे मूर्ख बनाउन खोजिदैछ। तर युरोपका केहि निश्चित देशहरू बाहेक सबै देशको शिक्षामा माध्यम भाषा आ-आफ्नै छ भन्ने यथार्थलाई हामी बुझ्नुपर्छ। जस्तै जर्मनमा जर्मनी, फ्रन्समा फ्रेञ्च, फिनल्याण्डमा फिनिस, डेनमार्कमा डेनिस, स्विडेनमा स्विडिस, स्वटजरल्याण्डमा स्विस, स्पेनमा स्पेनिस, पोर्चुगलमा पोर्चुगिज आदि। हामीभने नेपाली भाषाहरू छोड्न उद्दत भइरहेका छौं, के का लागि? उत्तर खोजौं! तथ्यविना अनावश्यक तर्कमा लागेर माध्यम भाषाका सवालमा गलत निर्णयहरू गरेर शिक्षा व्यवस्था ध्वस्त बनाउँदै जानी नजानी देशलाई पनि ध्वस्त बनाउन काम गरिरहेका छौं।

शिक्षा प्रणालीमार्फत नेपालमा आफ्नो प्रभाव बढाउन बाह्य शक्तिले अंग्रेजी भाषालाई मुख्य माध्यम भाषा बनाउने रणनीतिबमोजिम योजनाबद्ध रूपमा दबाव दिने काम गरिरहेका छन्। संस्कृत भाषालाई विषयका रूपमा पढाउने कुराको विरोध त्यहि रणनीतिबमोजिम भएको थियो, अहिले आएर प्रमाणित हुँदैछ। किनभने पश्चिमा मुलुकहरूले भने संस्कृत भाषालाई प्राथमिकताका साथ पढाइरहेका छन्। हामीले बुझ्नुपर्छ, मातृभाषाहरूको मूल्यमा न संस्कृत भाषा सिक्ने सिकाउने हो न अंग्रेजी भाषा नै। तर फलानो भाषा सिक्नै हुन्न भन्ने अतिवादी सोच त्यागेर संस्कृत, अंग्रेजी तथा अन्य कुनै भाषा कुन प्रयोजनका लागि किन सिक्ने सिकाउन भन्ने कुरामा भने हामीहरू स्पष्ट हुनैपर्छ।

आधारभूत शिक्षाको सुरूवात विद्यार्थीहरूको मातृभाषाहरूबाट नै गर्नुपर्छ भन्ने मान्यतालाई त्यागेर अंग्रेजी भाषालाई नै माध्यम भाषा बनाउने काम भइरहेको छ। त्यसले एकतिरले दुई सिकार गर्न खोजिदैछ, एक, हाम्रो भाषिक विविधतालाई कमजोर बनाउने दुई, संस्कृत भाषाको महत्त्व र आवश्यकतालाई बुझ्न नदिने। यो सत्यतथ्यलाई बिर्सिएर आज हामी जानेर नजानेर संस्कृत भाषालाई विषयका रूपमा विद्यालय शिक्षामा पुनः प्रवेस गराउन खोज्दा विरोध गरिरहेका छौं। आजको विश्वसँग दोहोरो र प्रभावकारी सम्वाद गर्न र बुझ्न अंग्रेजी भाषा जाने सजिलो  भए झैं संस्कृत भाषामा दख्खल भए अध्ययन अनसन्धान र ऐतिहासिक ज्ञान विज्ञानको सुक्ष्म जानकारी लिन र भोलिको विज्ञान तथा प्रविधि क्षेत्रमा प्रभाव बढाउन सजिलो हुन्छ भन्ने यथार्थलाई स्विकार गर्नुपर्छ। त्यसैले संस्कृत र अंग्रेजी भाषालाई कुन तहबाट कसरी प्रेवेस गराउने भन्ने कोणबाट बहस आवश्यक छ नकि आग्रहपूर्ण सोचको प्रभावमा परेर विरोध गर्ने!

शिक्षामा भाषाहरूको कुरा गरिरहँदा यसको दार्शनिक पक्ष, राष्ट्रिय क्षमता, आवश्यकता र उद्देश्य, विज्ञान र प्रविधिको विकास र प्रयोगमा यसको भूमिका बारेमा स्पष्ट हुनुपर्छ। अनि मात्र प्रणाली, पाठ्यक्रम, शिक्षकको तालिम, पाठ्यपुस्तकलगायत व्यवस्थापनका बारेमा चिन्तन गर्न सजिलो हुनेछ। आजको विश्व परिस्थितिलाई नजिकबाट हेर्दा शिक्षा व्यवस्थामा आमूल परिवर्तन नगरी शिक्षामा देखिएका समस्याहरूको दिगो समाधानमार्फत राष्ट्रिय मुद्दाहरूको ठीक सम्बोधन सम्भव देखिदैन्। आज शिक्षा व्यवस्था बिग्रिदा राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र प्रशासनिक क्षेत्रदेखि लिएर न्यायिक क्षेत्रमाथि नकारात्मक प्रभाव परेको हामीले बुझ्नुपर्छ। 

नेपालको संवैधानिक व्यवस्थाले शिक्षामा निशुल्किकरण र नीतिगत व्यवस्थाले यसमा निजिकरणको जुन व्यवस्था गरेको छ, त्यसले नेपालको शिक्षा व्यवस्था नै ध्वस्त बनाउँदै बाह्य स्वार्थ बलियो बनाउने काम गरिरहेको छ।  यो सत्यलाई नबुझी हामी अनुचित प्रभाव र दबावमा परेर शिक्षामा प्रयोग गर्ने माध्यम भाषाका सन्दर्भमा ठीक निष्कर्षमा पुग्न सकिरहेका छैनौं। एकातिर हामीले मातृभाषामा शिक्षालाई मौलिक हक बनाएका छौं भने अर्कोतिर त्यहि मातृभाषाको आवरणमा हाम्रो मौलिक पहिचान (भाषा, संस्कृति, धर्म र देश) माथि अतिक्रमण भएर गुमाउने वातावरण जो बनिरहेको छ, त्यसको तथ्य र तर्कसँगत विरोध गर्न पनि सकिरहेका छैनौं। जसका कारणले देशमा धर्मान्तरणका गतिविधिहरूमा उत्साहित भएर विभिन्न आवरणमा लगानी बढाईरहेका छन्। तर हामीभने अनावश्यक रूपमा तिनका स्वार्थहरू पूरा गर्ने माध्यम बनिरहेका छौं।

शिक्षा निःशुल्क र सस्तो बनाउने भन्दा पनि समावेसी र गुणस्तरीय बनाउँदै यसमा नागरिक र राज्यले आफ्नो क्षमतानुसार लगानी गर्ने वातावरण बनाउनु पर्छ। शिक्षामा व्यापारिकरणलाई निरूत्साहित गर्दै सार्वजनिक शिक्षालाई स्तरीय बनाउन राज्यले लगानी पनि बढाउनु पर्छ। किनभने निःशुल्किकरण र व्यापारीकरणले शैक्षिक माफियाहरूको मनोबल मात्र बढाएको छैन् देशमा बाह्य हस्तक्षेप बढ्ने वातावरण पनि बनाएको छ। 

यसर्थ हाम्रा मातृभाषाका माध्यमहरूबाट शिक्षाको सुरूवात गर्दै विस्तारै आवश्यकताका आधारमा थप भाषाका माध्यमहरूबाट पठनपाठन प्रभावकारी बनाउन शिक्षा व्यवस्थाको विकास, शैक्षिक नीतिको तर्जुमा र यसको कार्यान्वयनका लागि तयारी गर्न थालौं। अंग्रेजी भाषालाई माध्यम भाषा बनाएर नागरिक पलायन गराउने रणनीतिलाई असफल बनाउने सङ्कल्पका साथ नयाँ शिक्षा व्यवस्थाको विकासमा योगदान गर्न थालौं। भ्रममा नपरी हतारमा अंग्रेजीमा पढाउन र अंग्रेजी सिकाउन खोज्दा नयाँ पुस्ताको भविष्यसँगै देशको भविष्य पनि बर्बाद पार्ने कामको मतियार नबनौं। अंगेजी भाषालाई एउटा विषयका रूपमा पढाएर पनि हाम्रा विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सक्छौं भन्ने सोचका साथ शिक्षामा प्रयोग हुने भाषाका बारेमा व्यावहारिक निर्णय गरौं। किनभने अंग्रेजी एउटा भाषा हो, ज्ञानको भण्डार होइन।

सामाजिक चेतनालाई सकारात्मक, रचनात्मक र परिस्कृत बनाउन शिक्षा व्यवस्थामा आमूल परिवर्तनसँगै यसमा प्रयोग गरिने भाषाहरूको भूमिका पनि प्रधान हुन्छ। आफ्नोपन छोड्न सिकाउने शिक्षा व्यवस्थाको जगमा ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ बनाउने राष्ट्रिय सङ्कल्प पूरा गर्न सकिदैन्। त्यसैले शिक्षामा भाषाहरूको प्रयोग सन्तुलित बनाउनु भनेको राष्ट्रिय स्वार्थलाई बलियो बनाउँदै भाषिक, सांस्कृतिक तथा धार्मिक विविधताको संरक्षण र विकाससँगै दिगो विकासको लक्ष्य अपेक्षित समय मै हासिल गर्नु हो। अन्तमा भाषा, शिक्षा र विकासबीचको अन्तरसम्बन्धलाई मनन गरेर राष्ट्रिय भाषिक नीति बनाएर अघि बढ्नु पर्छ। जसले भोलिका दिनमा नेपालीहरूबीचको एकता सुदृढ र बलियो बनाउँदै राष्ट्रिय पहिचान ‘नेपालीपन’ लाई गर्व गर्न लायक नागरिक तयार गर्न शिक्षा व्यवस्था सफल हुनेछ। यसर्थ गुणस्तरीय शिक्षा विकासको आधार होभने असल नागरिक त्यसको मुख्य पूर्वाधार हो भनिने गरिन्छ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  २ : ०८ बजे