एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

युग पुरुष मदन भण्डारी स्मृतिको पानामा

नेपाली राजनीतिका एक जाज्वल्यमान प्रकाश पुञ्ज कमरेड मदनकुमार भण्डारी २०५० साल जेठ ३ गते चितवनको दास ढुङ्गामा हामी माझबाट सदा– सदाको लागि अस्ताउनु भयो । श्रद्धेय कमरेड स्व. मदनकुमार भण्डारी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदान र आजको आवश्यकताबारे संक्षिप्तमा केही चर्चा गर्न चाहन्छु ।

कमरेड मदनकुमार भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गे साँघुमा भएको थियो । पिता देवीप्रसाद भण्डारी र माता चन्द्रकला भण्डारीको पाँच भाइ छोराहरू मध्ये उहाँ माइला छोरा हुनुहुन्छ । उहाँको चार दिदी बहिनी, श्रीमती र दुई छोरीहरू छन्। २०१५ सालदेखि जन्मथलो ढुङ्गेसाघु बाट पढाइ सुरु गर्नुभएका उहाँले भारतको बनारसमा स्नातकोत्तर गर्नुभएको थियो । पढाइको सिलसिलामा बनारस बस्ने क्रममा उहाँलाई राजनीतिले प्रभाव पार्न थाल्यो र २०२४ सालदेखि नै माक्सवादप्रति आकर्षित भई पुष्पलाल समूहमा सङ्गठित हुनुभयो । फलस्वरूप २०२९ सालमा पुष्पलालको जनवादी सांस्कृतिक मोर्चाको केन्द्रीय सदस्य बन्नुभयो । आफु सङ्गठित हुँदै र अरूलाई सङ्गठित गर्दै पञ्चायती शासकले जनतालाई गरेको अन्याय, अत्याचार शोषण दमनको समुल अन्त्य गर्ने महान् अभियानमा निरन्तर आफूलाई अग्र भागमा राखेर पाटीको साङ्गठनिक गतिविधि बढाइरहनु भयो। राज्य भने अझ डन्ड, दमनकारी र उग्र भएर आफ्नो संयन्त्रहरू परिचालन गरिरहेको थियो। यस्तो अवस्थामा पनि कमरेड मदन भण्डारी भूमिगत जीवन व्यतीत गर्दै अनेकौँ नामबाट (सागर,लोकेश, वर्वरिक, मकुम, पखेती, बीबीआर, श्वेतशार्दुल, जीवन, जीवन शर्मा, राजमोति आदि) कार्यकर्ता र जनतामाझ डटिरहनु भयो। देश जर्जर बन्दै थियो, समय जटिलतातिर मोडिँदै थियो, यो बेला विभिन्न समूहमा विभक्त कम्युनिस्ट पाटीहरू आ– आफ्नो ढङ्गले आ– आफ्नो ठाउँमा सङ्घर्षरत थिए एवं क्रियाशील थिए । 

परिस्थिति विषम बन्दै थियो यो बेला मदन भण्डारी र समकालीन सहयोद्धाहरू बीच एक आपसमा एकताको निम्ति घनीभूत छलफलहरू बढिरहेको थियो । समयको तीव्र मागलाई मध्यनजर राख्दै छरिएर रहेको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने उद्देश्यले २०३२ सालमाको. के. को निर्माण गर्ने कार्य सम्पन्न भएको थियो। यसले देश,विदेशका क्रान्तिकारी कम्युनिस्टहरुलाई उत्साहित तुल्याएको थियो। यो निकै दूरगामी महत्त्वको घटना थियो । कमरेड मदन भण्डारी को.के. को केन्द्रीय सदस्य हुँदै २०३५ सालमा मालेको केन्द्रीय सदस्य, २०४१ सालमा पोलिटब्युरो सदस्य, २०४६ सालको चौथौँ महाधिवेशनबाट महासचिव,२०४७ सालमा माले– माक्सवादी एकीकरणपछि एमालेको महासचिव र २०४९ सालको पाँचौँ महाधिवेशनबाट पुनः महासचिव पदमा निर्वाचित हुनुभयो।

जीवनको लामो उतार– चढावसँगै नेपाली राजनीतिमा चर्चाको शिखर पुग्न सफल व्यक्तित्व कमरेड मदन भण्डारी प्रखर वक्ता, कुशल संगठक र राजनीतिक चिन्तक हुनुहुन्थ्यो। मूलतः ४६ को आन्दोलनपछि खुलामञ्चलगायत देशभरका विशाल जनसभाहरूलाई सम्बोधन गर्ने क्रममा तेजस्वी, मृदुभाषी, ओजपूर्ण शब्दले ओतपोत भाषणबाट सारा कार्यकर्ता र नेपाली जनतालाई मन्त्रमुग्ध बनाउनुभयो । त्यति मात्र होइन सार्वजनिक सभाबाटै राजालाई जनताको छोरासँग चुनाव लड्ने चुनौती दिँदै महाराजाधिराजलाई श्रीपेच खोली चुनावी मैदानमा उत्रन आह्वान गरी पछि उहाँको लोकप्रियताले सगरमाथाको उचाइ चुम्यो।

कमरेड मदनकुमार भण्डारीद्वारा प्रतिपादन जनताको बहुदलीय जनवादकै  कारण अहिले नेपालका कम्युनिष्ट पार्टीहरू, चाहे आफूलाई क्रान्तिकारी ठानी कुनै बेला युद्धमा होमिएका हुन् या विभिन्न समूहमा रहेका हुन, सबै संसद्मा उपस्थित छन्। जनताका प्रिय नेता कमरेड मदन भण्डारीले निर्माण गरेको नेकपा एमाले र नवीनतम विचार जवजका कारण आज  संसद्मा नेकपा एमाले सबै भन्दा ठुलो दलको हैसियतमा सरकारको नेतृत्व गरिरहेको छ ।

जननेता मदन भण्डारी वास्तवमा विलक्षण प्रतिभाको प्रतिमूर्ति हुनुहुन्थ्यो, उहाँले नेपाली कम्युनिस्ट आन्दोलनलाई एउटा नयाँ मोडमा पुर्‍याउनु भो भने विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ तरङ्ग तरङ्गित गरिदिनु भयो। विशेष गरेर विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेला र सोभियत सङ्घमा कम्युनिस्ट पार्टीको विघटनले दुनियाँका कम्युनिस्ट पाटीहरू तिलबिलाई रहेको बेला यी सब घटना परिघटनाका कारण कमरेड मदन भण्डारीले नेपाली विशिष्टताको आधारमा माक्सवादको सृजनात्मक प्रयोग “जनताको बहुदलीय जनवाद” सिद्धान्त प्रतिपादन गर्नु भयो । यो सिद्धान्तलाई मार्गदर्शक सिद्धान्तको रुपमा पाटीले आत्मसात् गर्‍यो ।

जबजका विशेषताहरू यस प्रकार छन् संविधानको सर्वोच्चता, बहुदलीय खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धाको प्रणाली, आवधिक निर्वाचन, कानुनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, विदेशी पुँजी र प्रविधि, क्षतिपूर्ति, विदेश नीति, नेतृत्व र अधिनायकत्व । जबजले अघि सारेका यी नै सिद्धान्तका आधारमा २०४८ सालको आम निर्वाचनमा काठमाडौँको २÷२ निर्वाचन क्षेत्रबाट कमरेड मदन भण्डारीले बहालवाला प्रधानमन्त्रीलाई पराजित गरी अद्भुत बिजय हासिल गर्नु भो। साथै सिङ्गो पाटीलाई प्रमुख प्रतिपक्ष पार्टीको रुपमा स्थापित गर्न सफल हुनु भयो र उहाँको सर्वत्र प्रशंसा मात्र भएन संसार भर चर्चा फैलियो। यसरी कमरेड मदन भण्डारीद्वारा अघि सारिएको नेपाली क्रान्तिको मौलिक कार्यक्रम“जनताको बहुदलीय जनवाद” ले पहिलो संसदीय प्रतिस्पर्धामा नै अभूतपूर्व सफलता हासिल गर्‍यो। यो नेपाली समाजको लागि एक कोशे ढुङ्गा थियो तर विडम्बना कमरेड मदनकुमार भण्डारीको अनायासै यात्रामा पूर्णविराम लाग्यो,२०५० जेठ ३ गते चितवनको दास ढुङ्गामा दुर्घटना भई मृत्यु भयो। यो दुर्घटना थियो या सुनियोजित हत्या थियो अहिलेसम्म आम जनमानसको मन– मष्तिकमा चासो र जिज्ञासाको विषय बनिरहेको छ।

जननेता स्वः मदन भण्डारीको जति चर्चा गरे पनि अपुरै रहन्छ। नेपाली कम्युनिस्ट आन्दोलनको आरोह– अवरोहमा उहाँको विशिष्ट योगदान र उहाँले विभिन्न कालखण्डमा निर्वाह गर्नु भएको भूमिकालाई स्मरण गर्नु पर्दछ। चाहे राष्ट्रियताको सन्दर्भमा होस् या देश र जनताका भाग्य, भविष्य एवं समृद्धिका सन्दर्भमा होस् उहाँको उत्कृष्ट मान्यतालाई आत्मसाथ गर्नै पर्दछ। आज मात्र होइन हिजो देखिको भारतीय मिचाहा प्रवृत्तिविरुद्ध उहाँले देखाएको साहसलाई उच्च सम्मान गर्नै पर्दछ । यही सन्दर्भमा २०४९ साल चैत्र २४ गते संसद्मा कमरेड मदन भण्डारीले टनकपुरका बारेमा राखेका बिचार अहिले पनि सान्दर्भिक छन्। उहाँको साहस र बिचारलाई सबै नेता कार्यकर्ताले अनुसरण गर्नुपर्दछ। 

कमरेड मदनकुमार भण्डारीद्वारा प्रतिपादन गरेको सिद्धान्त जनताको बहुदलीय जनवाद कै  कारण अहिले नेपालका कम्युनिष्ट पार्टीहरू चाहे आफूलाई क्रान्तिकारी ठानी कुनै बेला युद्धमा होमिएका हुन् या विभिन्न समूहमा रहेका हुन् यी सबै संसद्मा उपस्थित छन्। जनताका प्रिय नेता कमरेड मदन भण्डारीले निर्माण गरेको नेकपा एमाले र नवीनतम विचार जनताको बहुदलीय जनवादका कारण आज  संसद्मा नेकपा एमाले सबैभन्दा ठुलो दलको हैसियतमा सरकारको नेतृत्व गरिरहेको छ । यो बेला पार्टीलाई एकताबद्ध बनाइ समाज रूपान्तरण गरी राष्ट्रलाई समाजवादमा पुर्‍याउने भूमिकामा शीर्ष नेता र कार्यकर्ता हुनु पर्नेमा पार्टीबाटै निर्वाचित सांसदहरुले पार्टीको निर्देशन विपरीत विपक्षीलाई सहयोग पुग्ने कार्य गर्नु निर्देशनको उलङ्घन गर्नु मदन भण्डारी कमरेडको विचार र सिद्धान्तप्रति अपमान गर्नु हो पार्टीलाई धोका र जनताप्रति गद्दार गर्नु हो । यस्ता गतिविधिले  कमरेड मदनकुमार भण्डारी प्रति श्रद्धाञ्जली पनि हुन्न र उहाँको बिचारको सम्मान पनि हुन्न तर गद्दार र धोकेबाजहरूले बेइमान गरे पनि नेकपा एमालेका सच्चा नेता कार्यकर्ताहरूले कमरेड मदन भण्डारीको विचारलाई अनुसरण गरिरहने छन् र  सम्मान पनि गरिरहने छन्।

लेखक  : एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुनुहुन्छ । 

 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  १० : ३१ बजे