जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई अकल्पनीय दुर्घटनाबाट गुमाएको आज २८ बर्ष पुगेको छ । स्व. नेता द्वय भण्डारी र आश्रितको २८औँ स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
भूमिगत राजनीतिदेखि खुल्ला राजनीतिसम्म आइपुग्दा जननेता भण्डारीले नेपालको बाम र लोकतान्त्रिक आन्दोलनमा शिखर स्थान बनाउन सफल बन्नुभएको थियो । २०४७ सालमा नेकपा (माले) र मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको मार्क्सवादी समूहका बीचमा एकीकरण गर्न उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । दुई अलग धार, पृष्ठभूमि र वैचारिक मान्यता लिएर अघि बढेका कम्युनिष्ट समूहहरूका बीचमा एकता गर्नु अत्यन्त जिम्मेवारीपूर्ण काम थियो । यी दुई पार्टी एकीकृत भएर नेपालको कम्युनिष्ट आन्दोलनमा इतिहास र ऊर्जाको सम्मिश्रण बनेको थियो । छरिएका वाम पार्टीहरूलाई गोलबन्द गर्न तथा लोकतन्त्र पक्षधर गैरवामशक्तिहरुसँग कार्यगत एकता गरी त्यही संयुक्त शक्तिका बलमा मुलुकमा राजनीतिक परिवर्तन ल्याउनुपर्छ भन्ने मान्यता र निष्कर्षका आधारमा तत्कालीन माले पार्टीले २०४६ सालको संयुक्त जन आन्दोलनमा महत्त्वपूर्ण र निर्णायक भूमिका खेल्न सफल भएको थियो ।
वैचारिक रुपमा प्रखर नेता भण्डारी कम्युनिष्ट आन्दोलन भित्रको व्यक्ति मात्र नभएर नवीन विचार प्रतिपादक तथा अगुवा प्रतिनिधि र सशक्त आन्दोलनको वाहक पनि रहनु भयो । जननेता भण्डारीले हामीलाई छाडेर जानु भए पनि उहाँले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’बाट हामी मार्ग निर्देशित छौँ । वर्तमान राजनीतिक परिवेशमा उहाँले स्थापित गर्नुभएको विचार झनै सान्दर्भिक र समयसापेक्षित बन्दै गइरहेको छ । त्यसैले हामीले उहाँलाई भावनात्मक हिसाबले मात्र कदापि बुझ्नुहुँदैन । उहाँलाई एउटा व्यक्तिलाई बुझ्ने जस्तो मात्र कुरा भन्दा पनि यो त आन्दोलनलाई र कम्युनिष्ट आन्दोलन भित्रका सही विचारको विकास क्रमलाई कसरी बुझ्ने वा बुझ्नुपर्छ भन्ने विषय पनि हो ।
जननेता मदन भण्डारीको नेतृत्वमा तत्कालीन समयमा पार्टीले चलाएको अभियानले नेकपा (एमाले) एउटा नयाँ र उदीयमान शक्तिका रुपमा स्थापित भएको थियो । त्यही जगमा नेकपा (एमाले) आज जनतामा लोकप्रिय पार्टीका रुपमा स्थापित छ । उहाँले नै बहुदलीय जनवादको व्याख्या, पार्टी, समाज र राज्यको लोकतान्त्रिकरणको मान्यतालाई अघि सारेर मार्क्सवादलाई नेपालको विशिष्टतामा विकास गर्नुपर्ने मान्यतालाई अघि सार्नुभएको थियो ।
जननेता मदन भण्डारीको नेतृत्वमा तत्कालीन समयमा पार्टीले चलाएको अभियानले नेकपा (एमाले) एउटा नयाँ र उदीयमान शक्तिका रुपमा स्थापित भएको थियो । त्यही जगमा नेकपा (एमाले) आज जनतामा लोकप्रिय पार्टीका रुपमा स्थापित छ । उहाँले नै बहुदलीय जनवादको व्याख्या, पार्टी, समाज र राज्यको लोकतान्त्रिकरणको मान्यतालाई अघि सारेर मार्क्सवादलाई नेपालको विशिष्टतामा विकास गर्नुपर्ने मान्यतालाई अघि सार्नुभएको थियो ।
२०३५ असार आखिरीमा पहिलो पटक मेरो उहाँसँग भेट भएको थियो । तर, २०५० साल जेठ १ गते बिहान साढे आठ बजेपछि उहाँ कहिल्यै नभेटिने गरी हामीबाट बिदा हुनुभयो । जननेता भण्डारीसितको चौध वर्ष १० महिनाको लामो र निरन्तरको सम्बन्ध र सहकार्य तथा मित्रता र सानिध्यतामा अत्यन्त विश्वास, आत्मीयतामा एउटै कमिटीका सदस्य र सहयोद्धा कमरेडको रुपमा बिताएँ । मदनसित बिताएका ती दिनहरू मेरो राजनीतिक जीवनमा अत्यन्त महत्त्व राख्ने प्रेरणादायी दिनहरू हुन्, जसलाई म कहिल्यै बिर्सन सक्दिन ।
हार्दिक श्रद्धाञ्जली जननेता मदन भण्डारी ! हार्दिक श्रद्धाञ्जली कुशल नेता जीवराज आश्रित ! प्रिय कमरेड, तपाईँहरू सधैँ हाम्रो स्मरणमा रहिरहनुहुनेछ ।
लेखक उपप्रधानमन्त्री तथा एमाले महासचिव हुनुहुन्छ ।
प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार ९ : ०२ बजे
प्रतिक्रिया