नेपाल–भारत सीमामा संक्रमितहरुको निर्वाध आवतजावत

बुटवल – नेपाल–भारत सीमानाका बेलहियाबाट सङ्क्रमित भएका पनि  निर्वाध आवतजावत गर्न थालेका छन् । कोरोनाको सङ्क्रमण रोकथाम गर्न सीमानाकामा सामान्य अस्थायी हेल्थडेस्क र होल्डिङ सेन्टर बनाइए  पनि प्रभावकारी नभएका कारण त्यस्तो समस्या देखिएको स्थानीयवासीले बताएका छन् । नाकामा सामान्य ज्वरो मापन मात्रै गरिएको छ । भारतीय बजारमा किनमेल गर्न जाने नेपाली उपभोक्ताका कारण बढेको भीडले पनि सङ्क्रमण बढाएको अनुमान गरिएको छ । 

    रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक कैयौँ नेपाली भारतीय बजारमा सामान खरिद गर्न जान्छन् । उनीहरुको न कोरोना परीक्षण भएको छ, न उनीहरु स्वयंले स्वास्थ्य मापदण्ड पालना गर्ने गरेका छन् । कोरोना सङ्क्रमण रोकथामका लागि स्थानीय प्रशासनले जारी गरेको आदेश पनि कार्यान्वयन भएको पाइदैन । भारतीय पर्यटक र भारतमा काम गरेर  गरेर फर्किने नेपालीबाहेक सामान खरिद गर्न जानेको कोरोना परीक्षण नगरिएकाले सङ्क्रमण फैलाउने जोखिम झनै बढाएको बेलहिया हेल्थ डेस्कका स्वास्थ्य संयोजक लालमोहन चौधरी बताउनुहुन्छ । 

    पछिल्लो समय बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय र नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । नाकामा स्वास्थ्य मन्त्रालय, सिद्धार्थनगर नगरपालिका र विभिन्न सङ्घसंस्थाले हेल्थडेस्क राखेका छन् । सुरक्षाकर्मी पनि तैनाथ छन् । “यसरी आवतजावत गर्नेलाई परीक्षण त टाढाको कुरा हो सोधखोज र रोकतोकसमेत गरिएको छैन”, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजु भन्नुहुन्छ ।  रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सीमानाकामा स्वास्थ्य सर्तकता र स्वास्थ्य जाँचलाई कडाइ गरिएको  भन्नुभए पनि त्यहाँको जनशक्तिले त्यो भीड थेग्नसक्ने अवस्था देखिँदैन । बेलहिया नाका हुँदै दैनिक ५०० को हाराहारीमा मालबाहक सवारी साधन भित्रिन्छन् तर  चालक, सहचालकको पनि कोरोना परीक्षण गरिएको पाइदैन । नाकामा सङ्क्रमण देखिएका पनि होम आइसोलेसनमा बस्ने सर्तमा सिधै घर जाने गरेका बताइन्छ । 

    भारतमा बढ्दो कोरोना सङ्क्रमणका कारण रोजगारीमा गएका नेपाली फर्कने क्रम बढ्दो छ ।  बेलहिया नाकाबाट करिब तीन हजार, रुपैडिया नाकाबाट करिब चार हजार, कृष्णनगर, महेशपुरबाट करिब दुई हजार नेपाली केही समययता दिनहँु आइरहेका छन् । योबाहेक अन्य जिल्लाका साना नाकाबाट पनि उत्तिकै सङ्ख्यामा नागरिक आइरहेका छन् । 

    कोरोना सङ्क्रमण बढे पनि अहिले खोप कार्डका आधारमा गाडीका गाडी भारतीय पर्यटक तीर्थस्थल र पर्यटकीयस्थल घुम्न आएका देखिन्छ । बेलहिया नाकाबाट मात्र दैनिक सरदरमा ७००  (मालबाहक तथा यात्रुबाहक) गाडी नेपाल आइरहेको बेलहियास्थित इलाका प्रहरी कार्यालय र भैरहवा भन्सार कार्यालयले जनाएको छ  तर सीमामा न त स्वास्थ्य परीक्षणका लागि पर्याप्त जनशक्ति नै छ, न होल्डिङ सेन्टर नै । सीमित स्वास्थ्यकर्मीबाट काम चलाइएको नाकामा स्वास्थ्यकर्मी आफँै सङ्क्रमित भएका छन् । बेलहिया नाकाका ल्याब टेक्निसियन लोकनाथ कँडेल स्वास्थ्य जाँच गर्ने आठ स्वास्थ्यकर्मी सङ्क्रमित भएको बताउनुहुन्छ  । जनस्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकाल सतर्कता अपनाउँदै काम गर्दा पनि स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको उल्लेख गर्नुहुन्छ  । 

    नाकामा दैनिक ५०० भन्दाबढीको एन्टिजेन परीक्षण हुने गरे पनि प्रवेश गर्ने सबैको परीक्षण हुँदैन । यसअघि पनि भारतबाट आउने व्यक्तिबाटै कोरोना सङ्क्रमण फैलिएको भन्दै उद्योगी तथा व्यवसायीले सीमानाकामा परीक्षणलाई प्रभावकारी बनाउन माग गरेको बुटवल उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष कसजु  स्मरण गराउनुहुन्छ । कोरोना जाँच सहजरुपमा गरेर ढुक्कसँग नेपाल आउने वातावरण मिलाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । त्यसो त प्रदेश सरकारले यसअघि बनाउने भनिएको होल्डिङ सेन्टर अहिलेसम्म बनेका छैनन् । रुपन्देही, कपिलवस्तु र बाँकेमा बनाउने भनिएको होल्डिङ सेन्टरका लागि रुपन्देहीमा जग्गाको व्यवस्था  नै भएन, बाँकेमा पनि निकै ढिलो काम भएको छ भने कपिलवस्तुको कृष्णनगरमा काम अन्तिम चरणमा पुगेको छ । प्रदेश स्वास्थ्य कार्यालयका प्रवक्ता पुष्पराज पौडेलकाअनुसार बजेट अभावभन्दा पनि काम नै समयमा सुरु नभएर ढिलाइ भएको हो । 

–युवराज पाण्डे/रासस

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ३ : २१ बजे