तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा शीर्ष नेताहरूबीच छलफल

काठमाडौं । शुक्रबार बसेको गठबन्धन दलको बैठकले तीनै तहको निर्वाचन एकै पटक गर्ने विषय छलफल गरेको छ ।

निर्वाचन खर्च, नेपालको भूगोललगायतका विषयलाई ध्यानमा राखेर नेताहरूका बीचमा छलफल भएको बताइएको छ । संवैधानिक व्यवस्थाअनुसार निर्वाचन सम्पन्न गर्न गठबन्धन आवद्ध दलहरू प्रतिबद्ध रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताउनुभयो ।

तीन पटकमा सम्पन्न भएका स्थानीय तहका निर्वाचन, संविधान र कानुनअनुसार तीनको समयावधि, एकैपटक निर्वाचन गर्दा बाझिने सक्ने कानुनी व्यवस्था र त्यसको उपाय, संघ तथा प्रदेशको निर्वाचन आदिबारे गठबन्धनको तर्फबाट कानुनविदसँग परामर्श गर्ने निर्णय बैठकले गरेको छ ।

संविधान र ऐनमा स्थानीय निर्वाचनबारे फरक–फरक व्यवस्था भएको बताउँदै नेताहरूका बीचमा त्यसको व्यवस्थापनका विषयमा समेत छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ७ : १६ बजे