दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

७ हजार लिटर नक्कली महसहित नेकपा एसका नेता रङ्गेहात पक्राउ

​​​​​​​काठमाडौं । ७ हजार लिटर नक्कली मह सहित नेकपा एसका नेता  रङ्गेहात पक्राउ परेका छन् । 
नक्कली मह बनाएर बेच्ने क्रममा नेकपा एकीकृत समाजवादीका सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष नरबहादुर श्रेष्ठ पक्राउ परेका हुन् ।

उनलाई नक्कली मह बनाउने क्रममा कच्चा पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंको ज्याठामा ग्लुकोज र चिनी मिसाएर मह उत्पादन गरिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । 
महानगरीय प्रहरी अपराध महाशाखाले श्रेष्ठलाई बिहीबार पक्राउ गरेको हो ।

श्रेष्ठले आफ्नै घरमा अखाद्य वस्तुको संयोजन गरी नक्कली मह उत्पादन गर्ने र स्पर्श ब्रान्डको नामबाट बजारमा बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ । 
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का श्रेष्ठले आफू र श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ कम्पनी सन्चालन गरी गुणस्तरहीन मह बनाई विक्री वितरण गर्दै आइरहेको प्रहरीले जनाएको छ ।
उनले स्पर्स हनी नामको लेबल टाँसेर विक्री वितरण गर्ने गरेको र सो ब्राण्ड दर्ता समेत नभएको प्रहरीको भनाइ छ ।

प्रहरीले उक्त कम्पनीले वितरण गरेका मह सेवन नगर्न र तत्काल खबर गर्न समेत आग्रह गरेको छ ।

प्रहरीले अप्रेसन हनीको नाम दिएको उक्ता छापाको विवरण यस्तो रहेको छ ।

“अप्रेसन हनी” (2078/10/07)
घटना विवरणः-
काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहिन महको उत्पादन एवं बिक्री बितरण भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा मिति २०७८।१०।०६ गते यस महाशाखाको बिशेष टोलीले जिल्ला काठमान्डौ का.म.न.पा. वडा नं. २७ ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालक बर्ष ३८ को नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई मिसावट गरी गुणस्तरहिन मह बनाई रहेको अवस्थामा मह बनाउनको लागि प्रयोग गरिने बिभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहिन (७६०० के.जी. ) तयारी तथा कच्चा मह समेत बरामद गरी प्रारम्भिक अनुसन्धान पश्चात अनुसन्धान कारवाहीको लागि मिति २०७८।१०।०७ गते महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको ।
पक्राउ परेका व्यक्तिहरु:-
१.नामथर :- नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठ ।
उमेर:- ३८ बर्ष
ठेगाना :- जि. सिन्धुपाल्चोक ईन्द्रावति गा.पा. वडा नं. ६
हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २७ ज्याठा ।
अनुसन्धानबाट खुल्न आएका कुराहरुः-
•निज नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठले बिगत ७ बर्ष अगाडिदेखि निजको श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहिन मह बनाई बिक्री बितरण गर्दै आएको ।
•निजले नतिजा प्याकेजिङको नाममा कम्पनि दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने गरेको ।
•निजले गुणस्तरहिन मह काठमाण्डौ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेको ।
•निजले मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहिन मह बनाई प्रति के.जी. रु. ६५०।– मा बिक्री बितरण गर्दै आएको बुझिएको ।
•निजले सञ्चालन गरी आएको स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत भएको नदेखिएको ।
•निजले गुणस्तरहिन मह बनाउनको लागि ३०% ग्लुकोज, ३०% चिनी र बाँकी ४०% मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाउने गरेको ।
•उक्त स्पर्स हनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, बबरमहल, काठमाण्डौमा परिक्षण गर्दा HMF र F/G ratio को मात्र नेपाल सरकारको लागि तोकिएको अनिबार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको भनि खुलि आएको ।
बरामद गरेका सामानहरुः-
१.गुणस्तरहिन तयारी मह ६०० के.जी.
२.कच्चा तथा गुणस्तरहिन मह ६५०० के.जी. ।
३.ग्लुकोज ५०० के.जी.
४.चिनी १०० के.जी.
५.Weight मेसिन थान-१
६.लेभल मेसिन थान-१
७.सिल मेसिन थान-१
८.पेट्राइज मेसिन थान-१
९.स्टोरेज मेसिन थान-१
१०.स्पर्स हनीका लेभलहरु ( स्टिकर )
११.पेट जार अ. १००० पिस
पुनश्चः काठमाण्डौ उपत्यका लगायतका देशका बिभिन्न भागमा नक्कली एबं गुणस्तरहिन मह बिक्री बितरण भै रहेको पाईएकोले त्यसतर्फ सजग एवं सचेत रहन आम नागरिक तथा उपभोक्ताहरुलाई यस महानगरीय अपराध महाशाखा हार्दिक अपिल गर्दछ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  २ : ३५ बजे