चाँगुनारायण जङ्गलमा चरा गणना सुरु

भक्तपुर – धेरै प्रजातिको चरा पाइने कथन रहँदै आएको चाँगुनारायण नगरपालिकाको जङ्गल क्षेत्रमा गणना सुरु गरिएको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कमलराज गोसाइँसहितको टोलीले वडा नं ६ र ७ को सिमाना क्षेत्रमा रहेको मुहानपोखरी आसपास क्षेत्रमा रहेका चराको गणना सुरु गरेको हो ।

त्रिवि केन्द्रीय वातावरण विज्ञान विभागलगायत विभिन्न कलेजका स्नाकोत्तर तह र विद्यावारिधि अध्ययनरत विद्यार्थी एवं पक्षी संरक्षण सङ्घका प्रतिनिधि सहभागी रहेको टोलीले चरा गणना सुरु गरेका हुन् । गोसाइँका अनुसार चाँगुनारायणको यस क्षेत्रमा ५३ प्रजातिका चरा पाइन्छन् । थप प्रजातिका चराको पनि गणनाको क्रममा अध्ययन हुने छ । चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताउनुभयो ।

विद्यालयमा पुस्तकालय स्थापना गर्न एक हजार पुस्तक हस्तान्तरण

साःफु भक्तपुरले सिन्धुपाल्चोक, पाटी भञ्याङस्थित ठूलो थकनी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि पुस्तक हस्तान्तरण गरेको छ । संस्थाले  विद्यालयलाई कूल एक हजार ४० थान पुस्तक हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा साःफुका संस्थापक अध्यक्ष लक्ष्मी बखाद्यःले शिक्षामा सबैको पहुँच आवश्यक भएकाले दुर्गम क्षेत्रको सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई कक्षागत अध्ययनभन्दा बाहिरका ज्ञान वृद्धि गर्न सहयोग पु¥याउने उद्देश्यले पुस्तक प्रदान गरिएको बताउनुभयो । पुस्तक लिँदै विद्यालयका प्रधानाध्यापक तिलकराज खत्रीले ठूलो थकनी माध्यमिक विद्यालयमा अझै पुस्तकालय स्थापना गर्न नसकेको अवस्थामा यस संस्थाले दिएका पुस्तकबाट पुस्तकालय स्थापना गर्न सहयोग पुगेको बताउनुभयो ।

रासस 
 

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ६ : ५९ बजे