फैलिदैछ कोरोना, चिन्तित छन् मजदुर, सरकार भने मूकदर्शक 

काठमाडौं । नेपालमा कोभिड १९ को सङ्क्रमण भित्रिएसँगै अघिल्लो दुई पटकको लामो बन्दाबन्दीमा सास्ती खेपेका साना व्यापारी तथा मजदुरहरू कोरोना पुनः बढेसँगै चिन्तित बनेका छन् । 

बन्दाबन्दी सधैका लागि अन्त्य भयो होला भन्दै जसोतसो जीवन निर्वाह गरी रहेका उनीहरू पुनः बन्दाबन्दीको चर्चासँगै पिरोलिन थालेका छन् । 

लकडाउन खुलेसँगै उल्लेख्यरुपमा काम सुचारु नभएपनि केही हदसम्म राहत मिल्नेमा उनीहरू आशावादी थिए । तर तेस्रो भेरियन्टका रूपमा फैलिएको ओमिक्रोन सङ्क्रमणका कारण उनीहरूमा पुनः निराशा छाउन थालेको हो । 

काठमाडौं नारायणटारका रिक्सा चालक रामबहादुर सुनार पुनः लकडाउन हुने हल्लाले निराश भएको बताउनुहुन्छ । उहाँलाई अघिल्लो पटकको लकडाउनमा कोठाभाडा र खर्च समेत धान्न मुस्किल भएको थियो । दैनिक रिक्सा चलाएर चार जनाको परिवार धान्दै आउनुभएका उहाँमा फेरि लकडाउन भए कसरी परिवार चलाउने भन्ने चिन्ताले सताउन थालेको छ । सुनारले फेरि लक डाउन भए भोक्कै मरिने पो हो कि भन्ने चिन्ता थपिएको बताए । निराश देखिएका सुनारले भन्नुभयो ‘अब फेरि सबैतिर बन्द भए हामी भोकै मर्छौँ होला ।’

काठमाडौं माकलबारीमा ठेलामा कपडा व्यापार गर्दै आइरहनुभएकी राधा चालिसेको पीडा पनि उस्तै छ । कोभिडका कारण कोठा भाडा तिर्न र खान पनि मुस्किल हुन लागेपछि ठेलामा कपडा बेच्न सुरु गरेकी बताउने चालिसे यही पेसा पनि धरापमा पर्ने भएपछि के गर्ने होला भन्ने पिरलोमा परेको बताउनुहुन्छ । ‘लकडाउन अघि बेरोजगारी भएर थला परियो, जसोतसो सुरु गरेको व्यवसाय पनि यस पटकको कोरोनाले समाप्त पार्ला जस्तो पो भयो ।’चालिसेले निराश हुँदै बताउनुभयो ।  

 

 यस अघिको लकडाउनमा राम्रोसँग खाना खानसमेत नपाएको उहाँले बताउनुभयो । ‘लकडाउनभर खान पनि धौधौ भयो । कोठा भाडा त ८ महिनाको तिर्नै बाँकी छ । अब पनि लकडाउन भयो भने भोकै मरिएला जस्तो छ ।’ उहाँले पीडा पोख्नुभयो । चालिसेले कक्षा २ मा पढ्दै गरेकी आफ्नी ६ वर्षकी  छोरीलाई  कसरी पढाउने भन्ने चिन्ता थपिएको पनि बताउनुभयो । ‘हुने खानेहरू त अनलाइन कक्षामा पनि पढाउँछन्, हातमुख जोर्नै समस्या हुने हामीलाई त थप समस्या पो थपिने भयो’,उहाँले सुनाउनुभयो । 

 

दैनिक जसो ठेलामा तरकारी व्यापार गरिरहनुभएका सर्लाहीका रामलाल शाहलाई पनि सरकारले स्मार्ट लकडाउन गरे लगत्तै केही दिनयता व्यापार ठप्प होला  भन्ने पिरलोले सताउन थालेको छ । पाँच जनाको परिवारमा काम गर्न सक्ने र दुई चार रुपैयाँ कमाउने आफू मात्र भएको बताउने शाह अब लकडाउन भइहाले कसरी परिवार पाल्ने भन्ने चिन्तामा रहेछन् ।  

 

अघिल्ला लकडाउनमा खप्नुसम्म सास्ती खेपेका रामलाल ती दिन फेरि नआहोस् भन्ने चाहनुहुन्छ । प्रत्येक दिन कमाई गरेर छाक टार्नुपर्ने मजदुरलाई लकडाउन अभिसाप नै हुने उहाँको तर्क छ । भन्नुहुन्छ, “हामी जस्तो मजदुरलाई त लकडाउनले भोकभाेकै मार्ने नै भयो । एउटा ज्यान पाल्न त धौधौ छ । पाँच जनालाई कसरी पाल्नु न सरकारले हेर्छ ।” पहिलो पटकको लकडाउनमा पाँच किलो चामल, नुन र तेल पाउनुभएका उहाँले त्यसपछि भने कसैले पनि सहायता नगरेको बताउनुहुन्छ । सरकार गरिब जनताको मुखदर्शक मात्र बनेको उहाँको आरोप छ । 

अहिले दैनिकजसो १० हजारमाथि कोरोना सङ्क्रमितहरू थपिरहेका छन् । फैलँदो कोरोनासँगै फेरी लकडाउन होला भन्ने चिन्तामा सडकका मजदुर  र साना व्यापारीहरू आतङ्कित देखिन्छन्  । बिना तयारी लकडाउन गर्दा बिहान कमाएर बेलुका छाक टार्नु पर्नेहरू सिंधै समस्यामा पर्ने देखिन्छन् । अघिल्ला बन्दा बन्दीमा लामो समय काम गर्न नपाएर आर्थिक अवस्था थप कमजोर बनेकाहरू फेरी लकडाउन त हुने हैन भनी आतङ्कित बनिरहँदा  सरकार भने बिना तयारी बसिरहेको देखिन्छ । 

 

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ४ : १४ बजे