दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

सुनसरी ।  सुनसरीको बर्जू गाउँपालिका-६ स्थित चिमडीमा जारी बर्जू महोत्सवमा दर्शकले आगजनी र तोडफोड गरेका छन् ।  

मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी नायक खेसारीलाल यादव आउने कार्यक्रम थियो । बिहानैदेखि टिकट काटेर बसेका दर्शकले अन्तिम समयमा यादव नआउने थाहा पाउनासाथ स्टेजमा आगो लगाएका हुन् ।
 
उनीहरूले भारतीय ४ ओटा स्कार्पिओमासमेत आगो लगाएका छन् । आगलागीबाट टेबल, कुर्सी, साउन्ड सिस्टम जलेर पूर्ण रूपमा नष्ट भएको छ । तोडफोडबाट ठूलो जनधनको क्षति भएको बताइएको छ । 

घटनास्थललाई नियन्त्रणमा लिनका लागि  मोरङ र सुनसरीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । भिडलाई नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गरिएको उनले बताए । 

बर्जुतालको खेलमैदानमा पुस २४ गतेदेखि महोत्सवको आयोजना गरिएको थियो । मंगलबार महोत्सवको अन्तिम दिन थियो । कोरोनाको संक्रमण बढ्दै गएको भन्दै  जिल्ला प्रशासन कार्यालय सुनसरीले पत्र नै काटेर महोत्सव रोक्न भनेको थियो । तर, आयोजकले प्रशासनको निर्देशन अवहेलना गर्दै महोत्सव जारी राखेको थियो ।  

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ६ : २४ बजे