प्रदेश राजधानीको माग गर्दै वीरगन्जमा प्रदर्शन, बागमती प्रदेशमा मिसिन तयार

काठमाडौँ – प्रदेश २ को राजधानी जनकपुर कायम भएपछि वीरगन्जमा युवाहरुले विरोध प्रदर्शन सुरु गरेका छन् ।

आज अपरान्ह प्रदेश २ को सभामा भएको मतदानबाट दुई तिहाइ मतले स्थायी राजधानी जनकपुर कायम गरेपछि  साँझबाट  ​​​​​​​वीरगन्जको घण्टाघर चोकमा युवाहरुले वीरगन्जलाई राजधानी बनाउनुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा युवाहरुले मुख्यमन्त्री र प्रदेश सांसदहरुविरुद्ध नाराबाजी गर्नुका साथै मुख्यमन्त्री लालबाबु राउतको पुत्ला समेत जलाएका थिए ।

पर्साकी  प्रदेश सांसद एंव जनता समाजवादी पार्टीकी नेतृ करिमा बेगमले आफुहरुलाई जनकपुर राजधानी कुनै हालतमा मान्य नभएको बताउदै पर्सा र  बारा जिल्लालाई बागमती प्रदेशमा मिसाएर हेटौडालाई राजधानी स्वीकार गर्न तयार रहेको बताएकी छिन् ।

लोसपाका जिल्ला उपाध्यक्ष सुजित गिरीले पर्सा र बाराबाट जितेका प्रदेश सांसद र मुख्यमन्त्रीले वीरगन्जसँग गद्धारी गरेका बताएका छन् । 

त्यस्तै पर्सा क्षेत्र नम्बर २ 'ख' का प्रदेशसांसद राजेश्वर प्रसाद साह तेलीले दुई तिहाइको आडमा जनकपुरलाई राजधानी बनाइएको र वीरगन्जलाई मधेस आन्दोलनको केन्द्र बनाएर वीरगन्जलाई वर्वाद पारेको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस वीरगन्जका सभापति भोला प्रसाद कलवारले वीरगन्जसँग मधेसी दलले धोखा दिएको भन्दै वीरगन्जकै पक्षमा आफुहरुले  आन्दोलन चर्काउने नभए वीरगन्जलाई बागमती प्रदेशमा मिसाउने बताएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ८ : ५० बजे