‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कोरोनाको त्रासमा सिंहदरबार, चार सचिवलाई सङ्क्रमण

काठमाडौँ ।  मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ । 

चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि त्रास बढेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवलाई कोरोना भएको छ । प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुङ्गाना, रामप्रसाद थपलिया र  कृष्णबहादुर रावतलाई कोरोना सङ्क्रमण भएको प्रवक्ता महादेव पन्थले जानकारी दिनुभयो । 

थपलिया कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) का प्रमुख पनि हुनुहुन्छ। उहाँलाई कोरोना भएपछि सिसिएमसिसीको बैठक नै बस्न सकेको छैन ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सचिवहरू होम आइसोलेसनमा छन् ।

सिंहदरबारमा सङ्क्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले पिसिआर परीक्षण गरेको छ । प्रधानमन्त्री कार्यालयका मात्र ४० कर्मचारीलाई कोरोना पुष्टि भएको छ ।  

तर, सिंहदरबारभित्र कति कर्मचारी सङ्क्रमित भए भनेर एकीकृत तथ्याङ्क छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार कोरोना सङ्क्रमण भएका कर्मचारीलाई कोभिड काज बिदा दिने गरिएको छ । यो बिदा बढीमा १४ दिन हुन्छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ९ : ४० बजे