‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

रात्रिकालीन व्यवसाय र फिल्म हल बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोभिड संक्रमणको जोखिम बढिरहेको भन्दै माघ १५ गतेसम्मलाई मनोरन्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । 

आइतबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

धार्मिकस्थलमा भने जनस्वास्थ्यको मापदण्ड पालना गरी नित्यकर्म धार्मिक पूजा गर्न पाउने, सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एकपटकमा २५ जनाभन्दा बढी उपस्थित नहुने गरी सञ्चालन गर्नुपर्ने, पार्टी प्यालेसमा कुल क्षमता एक तिहाइ मात्र अथवा ५० जनाभन्दा बढी मानिस भेला नहुने गरी सञ्चालन गर्न दिने निर्णय भएको बताउनुभयो  ।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता कार्कीले नेपाल–भारतबीचको सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘दुई देशको बीचमा रहेको ऐतिहासिक सम्बन्धलाई मनन गरेर कूटनीतिक पहल अगाडि बढाउन सरकार तयार छ,’ उहाँले भन्नुभयो , ‘कूटनीति माध्यमबाट नै सबै काम अघि बढाउनुपर्छ।’

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ३ : ४४ बजे