सार्वभौमिकता माथि सत्ताधारीको ‘झुसिलो डकार’ : सरकार ‘चूँ’ नगर्ने, महामन्त्री द्वय स्पष्टीकरण दिने

​​​​​​​​​​​​​​काठमाडौँ। नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा कुनै पार्टी विशेषका केही पदाधिकारीले गर्ने विषय हो ? उनीहरूको स्पष्टीकरणले यो अभिभारा पूरा हुन्छ ? अहिले हरेक सचेत नेपाली जनताको मनमा उब्जेको प्रश्न हो यो । 

नेपाली काँग्रेसका दुई जना महामन्त्रीले संयुक्त प्रेस वक्तव्यका रूपमा ‘स्पष्टीकरण पत्र’ जारी गरेपछि यस्तो प्रश्न उठेको हो । 

वैदेशिक मामिलामा सत्ताधारीहरूको खुबी र हुती कति छ भन्ने कुरा सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसका ‘प्रखर राष्ट्रवादी’ महामन्त्री द्वयको संयुक्त प्रेस विज्ञप्तिबाट स्पष्ट भएको छ । 

देशको परराष्ट्र मामिला हेर्ने सत्ताधारी पार्टीको पदाधिकारीले हो कि, सरकारले हो ? परराष्ट्र मामिला, दुई देशबीचको सम्बन्धबारे दलहरूको धारणा हुँदैन भन्ने होइन, हुन्छ । तर, छिमेक मुलुकका प्रधानमन्त्रीले खुलेआम आफ्नो देशको भूमि हुँदै बाटो बनाएको घोषणा गरिरहँदा सरकारले ‘चुँ’ सम्म नबोल्ने र सत्ता गठबन्धनको नेतृत्व गरिरहेको पार्टी नेपाली काँग्रेसका महामन्त्रीहरूको संयुक्त वक्तव्यले दिन खोजेको सन्देश के हो ? देशवासीले यसको हिसाब माग्नुपर्ने भएको छ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छँदा लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा संसद्बाट पारित हुँदा ''हामी सबै मिलेर भएको हो'' भनेर तँछाडमछाड गर्ने र संशोधनको प्रस्तावमा गरेको हस्ताक्षरको मसी सुक्न नपाउँदै ''कागजमा नक्सा सच्याएर हुन्छ र ? जमिन फिर्ता ल्याएर देखाउनुपर्छ'' भनेर चुनौती दिनेहरू अहिले गठबन्धनको गठिलो सरकार छँदा किन जमिन फिर्ता ल्याउनेबारे नबोलेका होलान् ? यो प्रश्न कायमै रहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नक्सामा समेटिएका ती भू-भाग हुँदै कैलाश मानसरोवर पुग्ने बाटो बनाएको घोषणा गरिरहँदा सरकार बोल्दैन र सरकारको नेतृत्वकर्ता पार्टी बोल्दैन, सभापति बोल्दैनन्, संसदीय दल बोल्दैन, दुई जना महामन्त्रीहरूले आफ्नो स्पष्टीकरण दिन्छन् । 

त्यसपछि भारतीय दूतावासको दाबी त छँदै छ । आफ्नो देशको भू-भाग फिर्ता ल्याउने प्रयत्न त परै रह्यो, पछिल्लो पटक भएको भारतीय दादागिरीको कडा प्रतिवादसम्म गर्न नसक्ने सरकार र सरकारको लाचारीले देशको भौगोलिक सीमाको रक्षा गर्ने, मिचिएका भूभाग फिर्ता गर्न दबाब दिने अपेक्षा गर्नुको कुनै अर्थ देखिँदैन । 

सरकारको मौनताभित्र सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली काँग्रेसका महामन्त्री द्वयको वक्तव्यकै भर पर्नुपर्ने हो ? आज यो प्रश्न नेपाली जनताको साझा प्रश्न बनेको छ ।

 

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ११ : १५ बजे