‘एउटै नाउरको सिकार गर्न २३ लाख’

राजनीतिक व्यवस्था फेरियो, अब मानसिकता र व्यवहार फेर्नुपर्छ

भौतिक विज्ञानका अनुसार मानव ज्ञानको स्रोत वरिपरिको भौतिक वातावरण हो । मानिसको वरिपरि जस्तो वातावरण छ, त्यसले हाम्रो ज्ञानको अवस्था निर्धारण गर्दछ । त्यसैले राज्य यस विषयमा संवेदनशील हुन आवश्यक हुन्छ । यद्यपि ज्ञान मानिसको निजी विषय हो, तर यसको प्रभाव समाज, संस्कृतिमा समेत हुने भएको हुनाले जनतालाई  उत्तम ज्ञान प्राप्त हुने वातावरण सिर्जना गर्नु राज्यको पनि दायित्व हो । 

राज्य सञ्चालन गर्ने राजनीतिक दलबाट कानुनबमोजिम निर्वाचित जनप्रतिनिधिले हो । चलनचल्तीमा राजनीतिक दलले नै राज्य चलाउने हो भनेर भनिन्छ । त्यसैले ज्ञान, संस्कृति, समाजका विषयमा सबैभन्दा पहिले राजनीतिक दलहरू नै संवेदनशील, देशभक्त र जिम्मेवार हुनुपर्दछ । अन्यथा उचित वातावरणको अभावमा समाज सतहीपन र अराजक चरित्रमा फेरिन सक्दछ । राज्यले सामाजिक रूपान्तरणका विविध माध्यमहरू सिर्जना र अवलम्बन गरेर जनचेतना उकासिने सकारात्मक वातावरणको विकास दिन सक्नुपर्दछ ।

भारतमा करिब ८० को दशकसम्म सहरका अनेक चोक चौराहामा समय समयमा पुराना सिनेमाहरू साँझमा देखाउने गरिन्थ्यो  । म त्यति बेला भारतको मध्य प्रदेशमा थिएँ । ‘आज फलानो चोकमा सिनेमा देखाउने’ भनेपछि मानिसहरू हतार हतार घरको कामधन्दा उम्काएर त्यस ठाउँमा भेला हुन्थे । सिनेमा देखाउने काम प्रदेश सरकारको सूचना विभागले गर्थ्यो । त्यसरी चोक चौराहामा निःशुल्क देखाइने सिनेमाहरू सामाजिक, सांस्कृतिक सार बोकेका हुन्थे । धेरै जसो त देशभक्तिमा आधारित हुने गर्दथे । त्यति बेला आज जस्तो  मोबाइल, इन्टरनेट, फेसबुक थिएनन् । मनोरञ्जनका माध्यमहरू पनि यति धेरै थिएनन् । त्यस कारण भए पनि चाखलाग्दो र चोपिलो लाग्दथ्यो । 

नेपालका सहिदहरूका वीर गाथामा आधारित पाठ्य, श्रव्य, दृश्य सामग्रीहरू हाम्रा लागि र भावी पुस्ताका लागि उपयोगी विषय हुन सक्दछन् । राजनीतिक व्यक्तित्वहरू विश्वेश्वरप्रसाद कोइराला, पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी, गणेशमान सिंह,  सन्त नेता कृष्णप्रसाद भट्टराई आदि नाम योगदान भएका र चलेका हस्तीहरूका कृतित्वमा आधारित सिनेमाहरूले नेपालको राजनीतिक क्षेत्रमा सकारात्मक सन्देश दिन सक्दछन् ।

भारतमा देशभक्तिमा आधारित सिनेमाहरू ठुलो सङ्ख्यामा बनाइएका छन् । अङ्ग्रेज शासन विरुद्ध भारत स्वतन्त्रताका लागि भएका आन्दोलनका, भारत—पाकिस्तान युद्धका, भारत—चीन युद्धका सिनेमा बनेका छन् । अङ्ग्रेजी उपनिवेश अघिका महाराजाहरूको इतिहास, पौराणिक कथाहरू समेटिएका सिनेमा र टेलिशृङ्खलाहरू पनि निकै धेरै छन् । नयाँ सिनेमाहरू फिल्म हलमा र पुराना सिनेमाहरू चोक—गल्लीमा निःशुल्क जनतालाई देखाइन्थ्यो ।  आफ्नो देशको सेनाले तातो गोली खाएर रगताम्य भएर ढलेको देखेर कतिपय दर्शकहरू भाव विह्वल हुन्थे भने कतिपयमा शत्रुविरुद्ध आवेश देखिन्थ्यो । आफ्नो देशको सेना देशको रक्षाका लागि लडिरहेको दृश्यले आफ्नो देशको सेनाप्रति  श्रद्धा  र सम्मानको भावमा जाग्दथ्यो । 

कतिपय सिनेमाका कथा र गीतहरूले श्रम र धर्तीको सम्मान गर्ने भावना पैदा गर्दथ्यो । ‘मेरी देशकी धरती सोना उगले, उगले हीरे मोती’ भन्ने गीतको धुनसँगै फिल्मको हिरो किसान बनेर हलो काँधमा राखेर काम गरिरहेको देख्दा धर्तीप्रति र अन्न उब्जाउने किसान प्रतिको सम्मानले मन भावुक हुन्थ्यो । यसबाट किसानहरूमा आफू असल धरती पुत्र भएको गौरवको अनुभूति  हुन्थ्यो । धार्मिक, पौराणिक  सिनेमाहरू हेरेर आफ्नो भूभागमा उत्पत्ति र विकास भएको पूर्वीय दर्शन र संस्कृतिप्रति आस्था बलियो हुन्थ्यो, प्राचीन कथाहरूबाट ज्ञान पनि बढ्दथ्यो ।  

भारतका प्रायः जसो घरमा महात्मा गान्धी, भगतसिंह, सुवाष चन्द्र बोस, नेहरू लाल बहादुर शास्त्री, बल्लभ भाई पटेल लगायतको फोटो सजाएको पाइन्छ । माथि चर्चा गरिएका ज्ञान, अनुभव, गौरवबोध हुने देशका लागि केही गर्नुपर्छ भन्ने भाव पैदा हुने सिनेमाहरूको विशिष्ट महत्त्व हुन्छ । यस्ता प्रदर्शनको माध्यमबाट वीर अग्रजहरूप्रति, महान् विभूतिहरूप्रति सम्मान बढेको देखिन्थ्यो । 

स्वतन्त्रता दिवस, गणतन्त्र दिवसलाई हरेक भारतीयले मनैदेखि हर्षोल्लासपूर्वक चाड मनाएसरह महत्त्व दिएर मनाउँछन् । सबैले आफ्नो देश र स्वाधीनता, लोकतान्त्रिक व्यवस्थाप्रति गर्व गर्दछन् । जनतालाई गम्भीर बनाउन अनेककन सवालमा शिक्षित बनाउने विविध माध्यम मध्येको सिनेमालाई पनि एउटा माध्यमको रूपमा सदुपयोग गरिएको देखिन्छ । 

मानिसले ज्ञान बटुल्ने, सीप सिक्ने, धारणा बदल्ने माध्यमहरू विविध हुन्छन् । देखेर, सुनेर, पढेर, संवेदनशील भइने अनेकौँ माध्यमहरू हुन्छन् । संग्रहालयरू, स्मारक स्थलहरूको अवलोकनले मानिसलाई सम्वेदनशी जिम्मेवार बन्न सघाउँछ ।  यस्ता स्थलहरू पुरातत्त्व, इतिहास, धर्म, संस्कृति, समाज, आविष्कार, कला, उत्पादन, वीरता आदिसँग सम्बन्धित हुनुपर्दछ । हामीले पनि यसतर्फ ध्यान दिनुपर्दछ । 

नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो देश हो । यसले इतिहासका अनेक गाथाहरू बोकेको छ । सकारात्मक र नकारात्मक अनेक ऐतिहासिक घटनाहरू र सङ्घर्षको लामो इतिहास हामीसँग छ । संसारको अग्लो चुचुरो सगरमाथा रहेको, र विश्व शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देशको पहिचान छ । नेपाल राम, सीता, शिव, पार्वती तथा अनेकौँ ऋषिमुनिको देश हो । यस्ता अनेकौँ विशेषतामा आधारमा जनतालाई  शिक्षित, संयमित, ज्ञानी, देशभक्त, सुसंस्कृत बनाउने अनेक आयाम छन् । यी विषयतर्फ मूलतः राजनीतिक दलहरूको ध्यान पुग्न आवश्यक छ । 

नेपालमा राजनीतिक सामाजिक चेतना बढेको देखिन्छ । तर, राज्यका विभिन्न तहले देखेर, सुनेर चेतना पैदा हुने, गम्भीर भइने, जिम्मेवारी बोध हुने गरी हुने  स्थानहरूको प्रबन्ध गर्न सकेको देखिँदैन । त्यस्ता ज्ञानका स्रोतहरू राज्यको पहलमा निर्मित भएका सीमित छन् । भएका स्थानहरूको पनि संरक्षण र विस्तारमा त्यति तीव्रता देखिँदैन । यसतर्फ चाखलाग्दो ढङ्गले राज्य र राजनीतिक दलहरू लागेको पनि देखिँदैन ।

दलहरूको आन्तरिक र बाह्य टकराव, विभाजन, सभा जुलुस, विपक्षी विरोधीलाई सक्दो गालिगलोज, सत्ता केन्द्रित राजनीति, त्यसैमा कार्यकर्ताहरूको क्रिया प्रतिक्रिया आदिबाट नकारात्मकता बढ्ने खतरा देखिन्छ ।  

सञ्चार माध्यमहरूको क्षमता पनि त्यस्तै विषयमा खर्चिएको देखिन्छ । सिर्जनात्मकतातिर लगानी  कम छ । यस्तो राजनीतिक संस्कारले  नत  राज्य  राज्य जस्तो बन्छ, न राष्ट्रको एकता र अखण्डता बलियो बन्न सक्छ । प्रगतिशील  समाज निर्माण  भई समृद्ध  राष्ट्र  बन्नलाई त संवेदनशील  राजनीतिक  दल  र त्यसले विकास गर्ने जनमुखी  सक्षम राज्य चाहिन्छ । त्यस्तो राज्यले मात्र राष्ट्र निर्माण तथा राष्ट्रिय हित र सुरक्षामा जनतालाई गम्भीर बनाउन सक्दछ । 

सुशासित, सुसांस्कृतिक, सभ्य, योग्य, देशभक्तहरूको समाज निर्माण गर्न यहीँका ऐतिहासिक, पुरातात्त्विक ज्ञान विज्ञान पर्याप्त छन् । कला, साहित्य र संस्कृतिको विकासका निम्ति  स्थापित अनेक प्रतिष्ठान÷संस्थाहरूले यस विषयमा थप ध्यान दिन आवश्यक छ । हाम्रा  ऐतिहासिक  गौरव गाथाहरूमा आधारित नाटक मञ्चन गरी देखाउन सकिन्छ । बौद्ध दर्शन,  ऋषिमुनीहरु, राम, सीता, शिव, पार्वती, जनक, शंखधर, फल्गुनन्द, योगमाया, भगत सर्वजित, सहलेस(जयवर्धन), दीनभद्री आदि हाम्रो नेपाल भूमिका सम्पदा तथा व्यक्तित्वहरूले हामीलाई मार्गदर्शन सक्दछन् । 

नेपालका सहिदहरूका वीर गाथामा आधारित पाठ्य, श्रव्य, दृश्य सामग्रीहरू हाम्रा लागि र भावी पुस्ताका लागि उपयोगी विषय हुन सक्दछन् । राजनीतिक व्यक्तित्वहरू विश्वेश्वरप्रसाद कोइराला, पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी, गणेशमान सिंह,  सन्त नेता कृष्णप्रसाद भट्टराई आदि नाम योगदान भएका र चलेका हस्तीहरूका कृतित्वमा आधारित सिनेमाहरूले नेपालको राजनीतिक क्षेत्रमा सकारात्मक सन्देश दिन सक्दछन् ।  नेपालको राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायण शाह लगायतका इतिहासका राजा, राणाहरूको जीवनीमा आधारित टेलिफिल्म—फिल्महरूबाट पनि जनतालाई  इतिहासबारे जानकारी गराउन सकिन्छ ।  

यसरी नेपालको ऐतिहासिक, जातीय, भाषिक, भौगोलिक, राजनीतिक विविधताको ज्ञान, उचितको सम्मानका विषयहरूलाई प्रस्तुत गर्ने हो भने वर्तमान र भावी पुस्ताले गौरवबोध गर्न सक्नेछन् । यसतर्फ पर्याप्त ध्यान नपुगेको नपुगेको हो कि ? व्यवस्था परिवर्तन भएको छ । अब व्यवहार फेर्ने हो कि ?

 

(लेखक सामाजिक अभियन्ता हुनुहुन्छ ।)

 

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  १० : २१ बजे