दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कोरोना सङ्क्रमितलाई भरतपुर अस्पतालको हटलाइन सेवा

चितवन । भरतपुर अस्पतालले कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको छ ।  

कोरोना कहरलाई मध्यनजर गरी बिरामी र आफन्तको सुविधालाई ध्यानमा राखी ‘कोभिड–१९ हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना सङ्क्रमितका लागि शय्या, अक्सिजन, बिरामीले होमआइसोलेशनमा रहँदा कुनै स्वास्थ्य समस्या देखिएमा वा अन्य कुनै पनि जिज्ञासा भए सिधै फोनबाट चिकित्सकसँग परामर्श लिन सक्नेछन् । 

त्यसका लागि ०५६–५९६०९० मा सम्पर्क गर्न सकिने उहाँले बताउनुभयो । डेस्कका लागि १० चिकित्सक तथा छ पारामेडिक्सलाई जिम्मेवारी तोकिएको छ ।  

बिहान ७ देखि दिउँसो १ बजेसम्म एक सिफ्ट्, दिउँसो १ देखि साँझ ७ बजेसम्म अर्को र रातिको समयमा गरी तीन सिफ्ट्मा २४सै घण्टा सेवा सञ्चालनमा गरिएको छ । अस्पतालमा आएका बिरामीले समेत आकस्मिककक्षसँगै रहेको ‘कोभिड–१९ हेल्थ डेस्क’मार्फत कोरोनासँग सम्बन्धित सम्पूर्ण जानकारी लिन सक्नेछन् ।

सङ्क्रमितलाई शय्या बुझ्न, सामान्य जिज्ञासा तथा समस्याका लागि अस्पताल आइराख्नुपर्ने समस्या केही हदसम्म समाधान हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीले बताउनुभयो ।  अस्पताल आउँदा हुनसक्ने कोरोना सङ्क्रमणसमेत कम गर्न सकिने तिवारीले विश्वास व्यक्त गर्नुभयो ।

जिल्लामा अहिले तीन हजार ७४१ सक्रिय सङ्क्रमित छन् । तीमध्ये २१४ अस्पतालको आइसोलेशनमा, तीन हजार ५२४ होमआइसोलेशनमा र तीन जना सार्वजनिक आइसोलेशनमा उपचाररत रहेका छन् ।

जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण १६३ को मृत्यु भइसकेको छ । रासस

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  १० : ३८ बजे