विश्वका जुनसुकै देशका बासिन्दाले आफ्नो देश, भाषा, संस्कृति र जातिलाई संसारमा पुरानो सिद्ध गर्ने प्रयास गर्छ । ‘हामी हिजो अस्ति भर्खर उदाएका हौँ । हाम्रो पुर्ख्यौली इतिहास खासै लामो छैन । हाम्रो सभ्यता संस्कृति भर्खर हामीले बनाएका हौँ । अरू देशका पुर्खा दाजु अथवा बाउका दर्जामा छन् । हामी उनका भाइ छोरा जस्ता हौँ’ भनेर सायद कसैले स्वीकार गर्दैन ।
समाज पुरानो हो भने सामाजिक व्यवहार पनि पुरानो नै हो । सामाजिक व्यवहार भनेका समाजले स्वीकार गरेका आचार हुन् । ती आचारहरू त्यहाँको प्रकृति, प्राकृतिक स्रोत, भूगोल, जलवायु र उपलब्ध हुने खाद्य बाली आदिका आधारमा जीवनको व्यवस्था चलाउन निश्चित गरिएका हुन्छन् । तिनै आचारबाट नै नियम बनेका हुन् भन्ने कुरामा दुई मत नहोला । आचारबाट बनेका तिनै नियमहरू लिपिबद्ध भएपछि ऐन कानुन बनेका हुन् । सामाजिक नियमभन्दा विपरीत ऐन कानुन लिखित रूपमा ल्याउँदैमा समाजले स्वीकार गर्दैन । समाजले स्वीकार नगर्ने नियम बनाएर लाद्ने तानाशाही हुन्छ । तानाशाहको पतन भएका इतिहास जति पनि पाइन्छन् ।
विश्वमा आज जेजति नियमहरू बनेका छन्, ऐन कानुन, संविधान छन् ती सबैको स्रोत प्राचीन ग्रन्थ हुन् । यसो भएर नै सबैलाई आफ्नो प्राचीनता प्रिय हुन्छ । किनभने आफ्ना पुर्खाको लामो ऐतिहासिक लगानी त्यसमा हुन्छ र आफ्नै भूमिमा तिनीहरूको परीक्षण लामो समयसम्म भएको हुन्छ । आफ्ना पुर्खाले आफ्नै भूमिमा प्रतिपादन गरेको विचारलाई अस्वीकार गर्नु भनेको पुर्खालाई नपत्याउनु हो र भूमिलाई पनि अस्वीकार गर्नु हो । पुर्खालाई नपत्याउने बित्तिकै उनै पुर्खाको सन्तान आफू कति अपत्यारिलो छु भनेर आफैँलाई शङ्काका दृष्टिले हेर्नु पनि हो । आफ्नो देश, जाति, पुर्खा अवैज्ञानिक भए भने आफू वैज्ञानिकतापूर्ण छु भनेर दिने प्रमाण पनि आफ्ना हातमा सुरक्षित रहँदैन । त्यसैले प्राचीन वाङ्मय देवदेवीको पूजा गर्ने मात्रै नभएर पुर्खाको लामो यात्राले आर्जन गरेको व्यावहारिक ज्ञान हो । जुन व्यावहारिक छ असल सिद्धान्त त्यही हो र जुन असल सिद्धान्त बन्यो विज्ञान त्यही हो । कुरो कहाँनिर आएर फरक पर्छ भने पुर्ख्यौली आचार पालन गर्न सिकाइन्छ तर किन पालन गरिएको हो भन्ने जानकारी दिने वा लिने गरिँदैन । यसै भएर पुर्खाको ज्ञान र अनुभव आज आएर रुढीवाद वा अन्धविश्वास बनेको छ । कालान्तरमा तिनैभित्र स्वार्थी कुप्रथा मिसिएपछि त झन् अन्योल हुने नै भयो ।
प्रसङ्ग हाम्रो माघे सङ्क्रान्तिको हो । माघे सङ्क्रान्ति आज तिलका लड्डु खाने, तरुल उसिनेर खाने रूपमा मनाइन्छ । त्यो पनि जसले पुर्खाको चलन भनेर मानेको उसमा नै सीमित छ । पहिले नै भनियो कि पुर्ख्यौली नियम गर्नुपर्छ भनेर गरिन्छ तर किन गरिएको होला भनेर सोधखोज र अन्वेषण गर्ने बानी बसेको छैन । यस्ता प्राचीन कुराहरू कतिपयको खोजी हुँदै छ । हामी नेपालीहरू आफूले खोज्ने दुःख गर्दैनौँ । अर्का देशले खोजिदियो भने बल्ल त्यसलाई मान्छौँ । अर्थात् आफ्ना घरमा भएको समृद्धिलाई समृद्धि मान्दैनौँ तर अर्काले भनेपछि उसका पछि लागेर मान्छौँ । उदाहरणका लागि अर्काका देशमा गएर योगबाट ‘द योगा’ वा ‘योगा’ बनेपछि घरघरै त्यसको माहौल चल्यो । आस्तिक नास्तिक र अध्यात्मवादी भौतिकवादी सबैले स्वीकार गरे । किनभने त्यसले शारीरिक व्यायामको काम ग¥यो । उसै गरी आयुर्वेदी चिकित्सकलाई गन्ने चलन हराएको थियो । अहिले अर्का देशबाट ‘द आयुर्भेडा’ वा ‘आयुर्भेडा’ बनेर आएपछि त्यता पनि चासो जाँदै छ । माघे सङ्क्रान्तिका पनि खोज्नुपर्ने कुरा केही अवश्य होलान् ।
मकर सङ्क्रान्तिका दिन गरिने स्नानलाई मकर स्नान भनिन्छ । मकर स्नान गरेपछि तिलका सिक्रा बालेर आगो तापिन्छ । तिलले नै देवताको पूजा गरिन्छ र त्यसलाई तिलार्चन भनिन्छ । त्यसमा तिलको हवन गरिन्छ । तिलकै भस्मको तिलक धारण गरिन्छ । त्यसै अवसरमा न्यानो वस्त्र दान गर्ने र तिल दान गर्ने नियम शास्त्रले बताएको छ । तिलका लड्डु खाइन्छ माघ महिनाका विषयमा माघमाहात्म्यमा विस्तृत कुराहरू छन् । यी सबै नियम पालन गर्नुपर्छ भनेर सिकाइयो । पालन गर्नेहरूले पनि हस् भन्दै पालन गर्दै आएका पनि छन् । किन गर्नुपर्छ भनेर सोध्ने र यस कारणले गर्नुपर्छ भनेर बताउने परम्परा कहिलेदेखि छुट्यो त्यसको लेखो छैन । यस दिन वा माघ महिनामा तिलको यति धेरै प्रयोग हुने त शास्त्रले बताएको छ भनी मानिन्छ तर तिलका गुण के कति छन् भन्ने कुरा त आधुनिक प्रयोगशालाले खोज्न बुझ्ने सक्ने कुरा हो नि त्यो खोजिएको छैन । माघ महिनाको ऋतु परिवर्तनसँग तिलको सम्बन्ध के छ भनेर खोज्ने अर्को अवसर छ । आखिर तिल नै भनेर तोक्नुको अर्थ माथि बताएको योग र आयुर्वेदको जस्तै विज्ञानसम्मत पो फेला पर्छ कि । यसरी खोज्ने ठाउँ मनग्ये देखिन्छ ।
सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले त्यस दिनको नाम मकर सङ्क्रान्ति भयो । हाम्रै पुर्खाले खोज गरेर बाह्र राशिका नाम राखे । तिनै राशिको नाम अनुसार महिनाको नाम राखे । आजसम्म वर्षमा बाह्र महिना नै मानिन्छ । त्यसै अनुसार संसारमा बाह्र महिने पात्रो र क्यालेन्डर बने । हामीले वैज्ञानिक खोजकर्ता भनेकाहरूले पनि तिनै बाह्र महिनाको वर्ष मानेका छन् । हाम्रै वैदिक ग्रन्थ विश्वमा सर्व प्राचीन भनेर मानेका छन् भने हाम्रा पुर्खाको बाह्र राशि र बाह्र महिनाको खोज वैज्ञानिक रहेछ भन्ने प्रमाण स्वतः सिद्ध छ । त्यसरी नै ग्रहहरू नौ, नक्षत्रहरू सत्ताइस, ऋतुहरू छ र अयन दुईको हाम्रै ग्रन्थमा उल्लेख भएका छन् र भूगोल अनुसार ऋतुको सङ्ख्या घटबढ भए पनि अरू कुरा आजका विज्ञानले मानेको छ । साथै प्राचीन ग्रन्थमा बहुमूल्य भनिएका सुन, चाँदी, हीरा आदि आज पनि बहुमूल्य मानिन्छन् । यसो हुँदा हाम्रा पुर्खाले विना परीक्षण गफ लेखेर शास्त्र बनाएका होइनन् भन्ने स्वतः सिद्ध हुन्छ ।
अब प्रसङ्ग अयनको लिनुपर्ने हुन्छ । महाभारतमा वर्णित प्रसिद्ध पात्र भीष्म पितामह छ महिनासम्म बाणको शय्यामा सुतेका थिए । स्वेच्छाले मर्न पाउने वरदान उनले पाएका थिए । त्यसैले उनी मृत्युका लागि उचित समय पर्खेर बाणको ओछ्यानमा सुतिरहे । मकर सङ्क्रान्ति सुरु भएपछि उनले स्वेच्छाले प्राण त्यागे । अयन उत्तरायण र दक्षिणायन गरी दुई वटा हुन्छ । दक्षिणायनमा भएको मृत्यु अशुभ हुन्छ त्यसैले उत्तरायणमा प्राण त्याग्न उनी पर्खेर बसेका थिए । अर्थात् मकर सङ्क्रान्तिदेखि उत्तरायण सुरु हुन्छ । उत्तरायणमा सूर्य आकाशको केही उत्तरी भागमा आउने हो । दक्षिणायनमा सूर्य दक्षिणको बाटो आकाशमा गएको देखिन्छ । उत्तरायणमा दिन लामा, रात छोटा र जाडो कम हुन्छ । दक्षिणायनमा दिन छोटा, रात लामा र जाडो बढी हुन्छ ।
यति कुरा त हामीले देख्तै भोग्दै आएका छौँ र बुझेका पनि छौँ । जुन देखिने बुझिने र प्रस्ट छ त्यही प्रामाणिक हो र प्रामाणिक विचार वा व्यवहार नै वैज्ञानिक पनि हो । यो हाम्रै पुर्खाले खोजेका कुरा बिर्सँदा बिर्सँदै पनि हामीले अनुभव गरेकै छौँ । यसैले आज आएर अर्कातिर आफ्ना रीतिरिवाज र संस्कृति परम्परालाई रुढी र अन्धविश्वास भनियो भने पुर्खाका मिहिनेतलाई अपमान हुन्छ । बरु यसको अझ गहिरो अध्ययन हुँदा पक्कै अझ राम्रा कुरा फेला पर्न सक्छन् । हाम्रा पुर्खाले खोज गरेका वार, महिना, तिथि, ऋतु, ग्रह, नक्षत्र, आदि सबै आज पनि जस्ताका तस्तै चल्दै छन् । यी सबै वैज्ञानिक रहेका छन् भने अन्य कुराहरूमा पनि विज्ञान हुनुपर्ने भनेर खोजी गर्ने हो भने हाम्रा प्राचीनताको गरिमा अझ उच्च हुने थियो । प्राचीनताको खोजी गर्नु भनेको पछौटे हुनु होइन बरु आफ्नो पुरानो संस्कृति र प्राचीन समृद्धिका गौरव फेला पार्ने प्रयत्न हो ।
(लेखक चार वेद लगायत तीन दर्जन बढी संस्कृत ग्रन्थका नेपाली रूपान्तरकार तथा पूर्वीय वाङ्मयका अध्येता, अनुसन्धाता र विश्लेषक हुनुहुन्छ ।)
प्रकाशित मिति : १ माघ २०७८, शनिबार १० : ११ बजे
प्रतिक्रिया