पाकिस्तानमा पहिलो पटक राष्ट्रिय सुरक्षा नीतिको सार्वजनिक संस्करण सुरू

इस्लामाबाद – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबार देशमा पहिलो पटक राष्ट्रिय सुरक्षा नीतिको सार्वजनिक संस्करणको सुरुवात गर्नुभएको छ । 

यसलाई देशमा समावेशी विकासका लागि ‘सबै समेट्ने’ ढाँचा भनिएको छ । यहाँ आयोजित शुभारम्भ समारोहलाई सम्बोधन गर्दै खानले पाकिस्तानको सुरक्षा आफ्ना नागरिकको सुरक्षामा रहेको धारणामा यो नीतिगत रोडम्याप नागरिक केन्द्रित रहेको बताउनुभयो ।

कुनै पनि राष्ट्रिय सुरक्षा पद्धतिले विभेदरहित मौलिक हक र सामाजिक न्यायको प्रत्याभूति दिलाउँदै राष्ट्रिय सहमति र जनताको समृद्धिलाई प्राथमिकता दिनुपर्ने प्रधानमन्त्री खानले बताउनुभयो ।   

नागरिकहरूको विशाल क्षमता प्राप्त गर्न पाकिस्तानले वितरणमा आधारित सुशासनलाई बढावा दिनु आवश्यक भएको उहाँको तर्क छ । 

खानले पाकिस्तानको विदेश नीति र सैन्य क्षमताको प्रमुख लक्ष्य यस क्षेत्र र त्यसभन्दा बाहिर शान्ति र स्थिरता रहने बताउँदै पाकिस्तानको विदेश नीति आर्थिक कूटनीतिसँगै सम्बन्ध प्रवर्द्धनमा पनि धेरै केन्द्रित हुने बताउनुभयो ।

सो अवसरमा पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोईद युसुफले परम्परागत र गैर परम्परागत दुवै मुद्दाले पाकिस्तानको सुरक्षामा असर पार्ने भएकाले यो नीतिगत ढाँचाले राष्ट्रिय सुरक्षालाई व्यापक रुपमा लिएको बताउनुभयो । 

राष्ट्रिय सुरक्षा नीति आर्थिक सुरक्षाको वरिपरि केन्द्रित छ र भू–रणनीतिक रणनीति तथा अपेक्षाहरूमा पाकिस्तानको सुरक्षालाई सुदृढ पार्न र विश्वमा खडा हुन पनि प्रमुख भूमिका रहेको युसुफले बताउनुभयो । राष्ट्रिय सुरक्षा नीतिलाई पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति र संघीय मन्त्रीमण्डलले डिसेम्बरको अन्ततिर अनुमोदन गरेको थियो ।

रासस÷सिन्ह्वा

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १० : ४१ बजे