तराईका थारु बस्तीमा माघी पर्वको रौनक

धनगढी । पश्चिम नेपालको तराईका थारु बस्तीमा माघी पर्वको रौनक छ । माघ १ गतेलाई यहाँ माघी पर्वका रूपमा मनाइन्छ ।

माघी आउन एक दिन मात्र बाँकी रहँदा पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बर्दिया लगायतका जिल्लाका थारु बस्तीमा जाँड, ढिक्री, रोटीलगायत थारु परिकार बनाउन थालिएको छ । माघीमा मघौटा, धमार झुम्रा नाचमा पनि रमाइन्छ । घरबाहिर रहेका सदस्यहरू पनि माघी मनाउन आइसकेका छन् । थारु समुदायमा माघीसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ ।  माघ १ गतेदेखि थारु संवत् २६४४ सुरु हुँदै छ । 

कैलालीको धनगढी उपमहानगरपालिका –३ का श्यामु चौधरीका अनुसार नयाँ वर्षमा ‘जीता’(बङ्गुर) को मासु खाने प्रचलन छ । “नयाँ वर्षलाई  स्वागत गर्न गाउँ बस्ती आसपास नदीमा सरसफाइ पनि गरिएको छ,” चौधरीले भन्नुभयो, “ठाउँ ठाउँमा मेला लाग्छ । तर, यो वर्ष कोभिड सङ्क्रमणका कारण मेलाको रौनक छैन ।”

खानपिन संस्कृति
​​​​​​​माघीमा बङ्गुरको , माछा, घोगी, गङ्गेटालगायत खानाका परिकार खाने गरिन्छ ।  यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ–नयाँ लत्ताकपडाको पनि उचित जोहो हुने गरेको कैलारी गाउँपालिका–५ का चन्द्र बहादुर चौधरीले बताउनुभयो । 

थारु अगुवा माघव चौधरीका अनुसार ‘जीता’ को प्रसादसँगै रातभर जाग्रम बस्दै मघौटा नाच प्रदर्शनी गरिन्छ । यो आज राति हुन्छ ।  यो नाच दाङबाट कैलाली बसाइँ सरेका थारु समुदायले भित्र्याएका हुन् । अन्यत्रबाट आएका थारु समुदायले भने धमार, झुमा नाच पनि नाच्ने गर्छन्  ।

भल्मन्सा, गुरुवा चयन गरिँदै
थारु समुदायमा भल्मन्सा (गाउँका मुखिया), गुरुवा (धामी झाँक्री) र  चिरागी (कटवाल) पनि चयन गरिन्छ । गाउँमा सडक मर्मतदेखि सार्वजनिक कार्यक्रम, खोप कार्यक्रम लगायतको जानकारी चिरागीमार्फत दिइन्छ । सामाजिक काममा भल्मन्साको रोहबरमा निर्णय हुन्छ । ससाना विवाद पनि यही टिमले समाधान गर्छ । 

माघीको दोस्रो दिन माघ २ गते गाउँ गाउँमा माघी दिवानी  (विशेष छलफल) गरिन्छ । त्यस दिन छलफलका माध्यमबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ ।

 

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ८ : १६ बजे