शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता

पाल्पा । तानसेन नगरपालिकाले स्वैच्छिक अवकाश गर्ने शिक्षकलाई रु एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ ।

शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो । 

राजीनामा स्वीकृत भएपछि अवकाश गर्ने शिक्षकले रु एक लाख प्रोत्साहन भत्ता पाउने भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बाल विकास सहजकर्तालाई मासिक रु  हजार पारिश्रमिक उपलब्ध गराउन थालेको छ ।

यसैबीच विद्यालयका सहयोगी, सहायक कर्मचारी, बाल विकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालकको न्यूनतम पारिश्रमिक मासिक रु १५ हजार उपलब्ध गराउन थालिएको नगर प्रमुख अशोककुमार शाहीले बताउनुभयो । 

यसअघि बाल विकास सहजकर्ताको पारिश्रमिक रु छ हजार ५०० रहेको थियो । न्यूनतम पारिश्रमिकमा दिनभर ससाना बालबालिकालाई पठनपाठन गराउनुपर्ने बाध्यता रहेको थियो ।

बाल विकास सहजकर्ताको तलब पुनरावलोकन समितिको गत कात्तिक १५ गतेको बैठकको निर्णयअनुसार नगरपालिकाले पारिश्रमिक बढाएको हो । 

नगरपालिकाले रु ९४ लाख ५१ हजार थप गर्ने निर्णय गरेको हो । नपुग रकम कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चबाट भुक्तानी गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाभित्र सहयोगी, सहायक कर्मचारी, बाल विकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालक ११८ र बाल विकास सहजकर्ता ४६ जना रहेका छन् । 

आर्थिक वर्ष २०७७/०७८ मा कर्मचारी तथा बाल विकास सहजकर्ताका लागि वार्षिक रु एक करोड १८ लाख बराबर खर्च भएको थियो । रासस

 

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  १० : ५९ बजे