दर्शनशास्त्रको परिचय
‘दर्शन’ शब्दको सामान्य अर्थ ‘हेर्नु’ वा ‘देख्नु’ भन्ने हुन्छ । अंग्रेजीमा दर्शनलाई फिलोसोफी (एजष्यिकयउजथ¬) भनिन्छ ।’
दर्शनशास्त्रको परिभाषा गर्दा निम्न लिखित तीन कुरामा ध्यान दिनुपर्दछ । पहिलो— दर्शन भनेको जीवन र जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो । दोस्रो— दर्शन भनेको प्रकृति र मानव समाज एवं चिन्तनका चालक एवं सामान्य नियमहरूको विज्ञान हो या शास्त्र हो । तेस्रो— दर्शन भनेको सिङ्गो जीवन र जगत्को तथा प्रकृति र मानव समाज एवं चिन्तनका सामान्य नियमहरूको अध्ययन गर्ने पद्धति हो ।
यसो सोचेर हेर्यो भने हाम्रा अगाडि अचम्म लाग्दा दृश्य वा वस्तुहरू छन् । बिहान पूर्वतिरबाट सूर्य उदाउँछ । रातीको अँध्यारोलाई हटाउँदै उज्यालो र न्यानो छर्दै अघि बढ्छ । त्यही न्यानो घामले दिउँसोमा टिक्नै नसक्ने गरी तातो हुन्छ । बेलुकी भएपछि पश्चिमी क्षितिजबाट अस्त हुन्छ र पूर्ववत् अँध्यारो र चिसोको साम्राज्य सुरु हुन थाल्छ । जब रात पर्छ, तब आकाशमा अर्को चम्किलो डल्लो देखा पर्छ । त्यसलाई हामी चन्द्रमा भन्छौँ । चन्द्रमाको साथै हजारौँ लाखौँ चम्किला तारा र ग्रहहरू देखिन थाल्छन् । तिनीहरूको दूरी, आकार र चम्काइ पनि फरक फरक हुन्छ । चम्किलो सूर्य र चन्द्रमालाई कहिले ग्रहणले छुन्छ र धपक्क कालो पोतिदिन्छ ।
यस्तै पृथ्वीमा पनि अचम्म देखिन्छ । वरिपरि थरी थरीका रुख विरुवाहरू छन् । कतै सुन्दर फूल फूलिरहेका छन् त कतै उजाड मरुभूमि छ । कतै सेतो हिउँले ढाकेका हिमालहरू छन् । कतै ठूला ठूला समुद्रहरू छन् । जीव र जन्तुहरूको उत्तिकै विचित्र लाग्दो रूप छ । कतै हामी दुई खुट््टा टेकेर हिँड्ने मानिसहरू छोैँ त कतै चार खुट्टे जनावरहरू । यिनीहरूमा पनि एकरूपता छैन । अर्कोतिर, आकाशमा उड्ने चराचुरुङ्गीदेखि जमिनमा घस्रेर हिँड्ने किराकिरीको उत्तिकै सङ्ख्या छन् ।
यसो विचार गरौँ त यो सबै के हो ? यो संसार भनेको के हो ? सूर्य, चन्द्र, तारा, ग्रह कसरी बने ? यिनको विकास कसरी भयो र हुँदै छ ? मानिस र अन्य जीवजन्तुको उत्पत्ति कसरी भयो ? कसरी वा कसले सञ्चालन गरिरहेको छ ? मानिस कसरी जन्मन्छ ? कसरी हुर्कन्छ र किन मर्छ ? यी सबै अचम्म लाग्दा प्रश्न छन् । एक्लै एकान्तमा बसेर सोच्यो भने मानिस पागल हुन बेर लाग्दैन । यस्ता प्रश्न दिमागमा खेलाउने हरेक मानिसले जबसम्म यस्ता प्रश्नको उत्तर पाउँदैन, तबसम्म ऊ सन्तुष्ट हुन्न र उत्तरको खोजीमा भौँतारिइरहन्छ ।
हो, यिनै वा यस्ताखाले जिज्ञासाको समाधान गर्ने वा प्रश्नको जवाफ दिने शास्त्र नै दर्शनशास्त्र हो । दर्शनशास्त्रले यस्ता हरेक खालका जिज्ञासाको उत्तर दिन्छ । हाम्रो जीवन र हामीले हाम्रा आँखाले देखेका वा देख्न पनि नभ्याइसकेका समस्त जगत्को उत्पत्ति कसरी भयो ? यो कसरी सञ्चालन भइरहेको छ ? कहिले जाडो, कहिले गर्मी, कहिले रात, कहिले दिन, कहिले वर्षा र झरी, कहिले सुख्खा खडेरी यो सबेै किन हुन्छ ? यी अनेकौँ प्रश्नको जवाफ दिने शास्त्र नै दर्शनशास्त्र हो ।
दर्शनशास्त्रको उत्पति र विकास
दर्शनशात्रको उत्पत्ति कहिले र कसरी भयो ? भन्ने प्रश्नको यकिन जवाफ निकाल्न त्यति सजिलो छैन । आजका हामी मानिसहरू एकैचोटि यो अवस्थामा आएका पनि होइनौँ । मानिस मानिस हुनुपूर्व अनेकौँ तह पार गरेका कुरा विज्ञानले बताइरहेको छ । मानिसले मानिसका रूपमा आउनुपूर्व धेरै समय जङ्गली अवस्थामै बितायो । जङ्गली अवस्थामा रहेका मानिसले आकाशमा सूर्य, चन्द्र्र्र, तारा, ग्रह देखे । कहिले उज्यालो, कहिले अँध्यारो, कहिले सफा आकाश, कहिले हुरी, बतास, वर्षा, गर्जन, चट्याङ, भूकम्प, हिउँको बर्षा, असिनाको ओइरो आदि कुरा देख्दै र भोग्दै गएपछि मानिसको दिमागमा अनेकौँ प्रश्नहरू जन्मिन थाले । किन यस्तो भइरहेको छ ? यो आफैँ हुन्छ कि कसैको आदेश वा सल्लाहमा हुन्छ ? यसको सञ्चालक कोही छ कि ? यस्ता प्रश्नहरूको जवाफ खोज्दै जाने क्रममा दर्शनशास्त्रको उदय भएको हो ।
यसै सन्दर्भमा दर्शनको उदय कसरी भयो भन्ने बारे दर्शनशास्त्रका ज्ञाता भन्दछन्, ‘मानिसले जबदेखि संसारको सृष्टि कसरी भयो र यो कसरी चल्छ ? जीवनको सिर्जना र सञ्चालन कसरी हुन्छ ? चेतना के हो र यसको निर्माण कसरी हुन्छ ? भन्ने जस्ता सवालमा सोच्न र तर्क गर्न थाल्यो तबदेखि नै दर्शनको उदय भयो । सामान्य हिसाबले भन्नुपर्दा जब मानिसले जीवन र जगत्को सम्बन्धमा तार्किक चिन्तन र व्याख्या गर्न थाल्यो तब दर्शनको उदय भयो । मानिस यस उचाइको चिन्तनमा कहिलेदेखि पुग्यो भनेर ठिक ठिक समय किटान गर्न गाह्रो छ ।
दर्शनको इतिहासको अनुुसन्धानबाट अहिलेसम्म प्राप्त भएका तथ्यहरूका आधारमा आजभन्दा तीन हजारदेखि ढाई हजार वर्ष पहिले इजिप्ट, दक्षिण एसिया, चीन र युनानमा विभिन्न प्रकारका दार्शनिक चिन्तनहरू देखापरेका थिए र प्राचीन युनानमा दर्शनशास्त्रको शास्त्रीय रूपको विकास भएको थियो भन्ने निष्कर्ष निकालिएको छ । ईसापूर्व तेस्रो सहस्राब्दीको उत्तराद्र्ध र दोस्रो सहस्राब्दीको पूर्वार्धमा रचिएको ऋग्वेदमा संसारको सृष्टिसम्बन्धी विभिन्न धाराणाहरू रहेका छन्, जसलाई दार्शनिक चिन्तको प्रारम्भिक रूप मान्न सकिन्छ ।
ईसापूर्व प्रथम सहस्राब्दीमा दक्षिण एसियामा उपनिषदिक चिन्तन तथा साङ्ख्य, लोकायत, जैन, बौद्ध आदि दर्शन देखापरे । चीनमा कन्फुयुसियसवाद र ताओवादी दर्शन देखापरे भने प्राचीन युनानको उपनिवेशका रूपमा रहेको आयोनिया द्वीपमा थेल्स, अनेक्सिमेन्डर र अनेक्सिमेन्सका प्राकृतिक भौतिकवादी दार्शनिक चिन्तकहरू देखापरे । थेल्सले पानीलाई, अनेक्सिमेन्डरले कुहिरोलाई र अनेक्सिमेन्सले वायुलाई सृष्टिको आधार मान्थे । ईसापूर्व प्रथम सहस्राब्दीको उत्तराद्र्धमा युनानका दार्शनिकहरू पाइथागोरस, हेराक्लिट्स, डेमोक्रेट्स, एपिकुरस, प्लेटो, एरिस्टोटल आदिले दर्शनशास्त्रको शास्त्रीय रूप को विकास गरेका थिए भन्ने मानिन्छ ।
दर्शनशास्त्रका मुख्य धाराहरू
दर्शनशास्त्र अतिप्राचीन विज्ञान हो । यसले जीवन र जगत्को उत्पति र विकाससम्बन्धी विषयमा शोध, अनुसन्धान, व्याख्या र विश्लेषण गर्दै आइरहेको छ । दर्शनको क्षेत्रमा विभिन्न चिन्तकहरूले आफ्नो समय तथा श्रम खर्चेका छन् । यसैको प्रतिफल दर्शनशास्त्रको क्षेत्रमा पनि विभिन्न विचारहरू अघि आएका छन् ।
कसैले यस संसारको सृष्टि ईश्वरले गरेका हुन् भन्ने तर्क अघि सारेका छन् भने अर्काथरी वैज्ञानिकहरू यो कुरा मान्न तयार छैनन् । उनीहरूको विचारमा यसको उत्पत्ति प्राकृतिक रूपमा आफैँ भएको हो । त्यसैले दर्शनशास्त्रको क्षेत्रमा ईश्वरपक्षीय दार्शनिक मतलाई अध्यात्मवादी मत र अर्काथरी मतलाई भौतिकवादी मत भन्ने गरिएको छ ।
अध्यात्मवादी विचारको प्रतिनिधित्व गर्दै स्वामी प्रपन्नाचार्यले वेदलाई भूमण्डलमा बस्ने समस्त मानवको सबैभन्दा पहिलो साहित्य र पहिलोे बोली बताएका छन् । जीवन र जगत्को सृष्टिको सम्बन्धमा ऋग्वेदमा भनिएको छ, ‘विराट पुरुष परमात्माको मनबाट चन्द्रमा उत्पन्न भयो, आँखाबाट सूर्य उत्पन्न भयो, मुखबाट इन्द्र र अग्नि दुवैको उत्पत्ति भयो, प्राणबाट वायु भयो । यसै प्रकारले अन्तरिक्ष तथा द्यौ, भूमि आदिको सृष्टि विराट पुरुष परमात्माद्वारा भयो । परमपुरुष परमात्माले आफ्नो अलौकिक दिव्य इच्छाले पृथ्वीमा पानी बर्साइदिए अनि पृथ्वीमा अनेक प्रकारका रुख, झारपात, घाँस आदि नाना प्रकारका तीतो, गुलियो, टर्रो, रसले युक्त पारेर उमारिदिए, जो अनेक किसिमका प्राणीहरूका उपयोगमा आए । त्यसपछि परमात्माले समुद्र, संवत्सर, अनि दिन र रात पनि बनाइदिए, किनभने परमात्मा दयालु भएका हुनाले प्राणीहरूले दिनमा जीविका गरेर खाऊन्, रातमा आराम गरून् भनेर दिनरातको पनि सिर्जना गरिदिए । अनि पछि विश्वलाई शासन गर्ने, आफ्नो वशमा राख्ने सामथ्र्य भएका ती परमात्माले आफ्नो दिव्य इच्छाले घोडा, गाई, बाख्रा, भेडा, कीरा, फट्याङ्ग्रा आदि नाना प्रकारका पशु—पक्षीहरू सिर्जना गरे । तर यी पशु—पक्षी, जीवजन्तु आदि एक्कासि परमात्माबाट भएका होइनन् अपितु आफ्नो पूर्वजन्मको कर्मअनुुसार उत्पन्न भएका हुन् । त्यसपछि परमात्माले मानव सिर्जना गरे ।’
श्रीकृष्णले अर्जुनलाई उपदेश दिने क्रममा श्रीमद्भगवत्गीतामा जीवन र जगत्को उत्पत्तिबारे भनेका छन्, ‘सम्पूर्ण आध्यात्मिक तथा भौतिक जगत्को उत्पत्तिको स्रोत मै हुँ, हरेक वस्तु मैबाट पैदा भएका हुन् ।’
भौतिकवादी दार्शनिकहरू यस कुरालाई मान्न तयार छैनन् । उनीहरूको भनाइ यस्तो छ, ‘आजभन्दा १५ अर्ब वर्ष पहिले ब्रह्माण्डको स्वनिर्माण भएको थियो । सुरुमा बह्माण्ड धेरै तातो भए पनि क्रमशः सेलाउँदै गएपछि तारा र ग्रहमण्डलहरू बन्न थाले । त्यसै क्रममा आजभन्दा करिब ४ अर्ब ६० करोड वर्ष पहिले हाम्रो पृथ्वीसहित सौर्यमण्डलको पनि स्वनिर्माण भयो । आजभन्दा करिब ३ अर्ब ८० करोड वर्ष पहिले जीवनको अस्तित्व देखा प¥यो । पहिले पानीभित्र एक कोशीय जीव देखाप¥यो । त्यसपछि क्रमशः बहुकोशीय, अरीडधारी, रीडधारी, उभयचर, स्थलचर, अण्डज, स्तनधारी, उद्ग्रहचारी हँदै अन्तमा मानिसको आविर्भाव भयो ।’
त्यसैले आज संसारमा जति पनि दर्शनिक विचार अघि आएका छन् ती सबैलाई दुई धारामा विभाजन गर्न सकिन्छ, एक अध्यात्मवादी विचार र अर्को भौतिकवादी विचार । भौतिकवादी विचारलाई नास्तिक विचार पनि भन्ने गरिन्छ ।
अध्यात्मवादी दर्शनले सबैभन्दा पहिले चेतना (ईश्वर) को जन्म भएको बताउँछ । चेतनाले नै पदार्थ अर्थात् सूर्य, चन्द्र, पृथ्वी, तारा, ग्रह, जीव, जन्तु आदि सबैको सृष्टि गरेको हो । यो संसारको चालक पनि चेतना नै हो । ऊ अति शक्तिमान् छ । उसले चाह्यो भने जे पनि गर्न सक्छ । उसको आवश्यक्ताअनुसार सृष्टि गर्छ र आवश्यक नपरेको वस्तु नष्ट पनि गर्न सक्छ । हामीले देखेको वा नदेखेको सारा ब्रह्माण्ड तथा हामी सबै जीवजन्तुहरू उसैकोे अधीनमा छौँ । उसैद्वारा सञ्चालित छौँ । हाम्रो स्वतन्त्र अस्तित्व केही पनि छैन । उसले पानी पार्न चाहे पानी पर्छ, हुरी बतास पठाउन चाहे हुरी बतास चल्छ । उसैले जाडो बनाउँछ, उसैले गर्मी बनाउँछ । यो सबै उसैको करामत हो ।
अध्यात्मवादीहरू संसार बुझ्न नसकिने खालको अबोधगम्य वा अज्ञेय छ भन्ने मान्यता राख्छन् । आत्मा, परमात्मा, ईश्वर, स्वर्ग, नर्क आदि कुरामा विश्वास राख्छन् । यिनीहरूले आत्मा अमर छ, जीवनको पुनर्जन्म भइरहन्छ भन्ने विचार राख्छन् ।
भौतिकवादी दर्शनशास्त्र यसको ठिक विपरीत विचार हो । भौतिकवादी दर्शनशास्त्रले चेतना होइन, पदार्थको उत्पत्ति पहिले भएको बताउँछ । पदार्थले नै चेतनाको विकास गरेको हो । एउटा उदाहरण दिँदै उनीहरू भन्छन् । करेलो पदार्थ हो र त्यसमा भएको तीतोपन चेतना हो । त्यसैले पहिले करेलाको उत्पत्ति हुन्छ अनि बल्ल त्यसमा तीतो पस्दै जान्छ । अध्यात्मवादीहरूले भन्ने गरेको ईश्वर, भगवान्, स्वर्ग यी सबै काल्पनिक कुरा हुन् ।
मानिस जङ्गली अवस्थामै भएको बेला अनेकौँ परिवर्तनहरू भए । दिन, रात, उज्यालो, अँध्यारो, हुरी, बतास, असिना, पानी, चट्याङ, कहिले हिउँको वर्षा, कहिले सुख्खा खडेरी, कहिले जाडो, कहिले चौपट्टै गर्मी यी सबै देखेका मानिसहरूका मनमा विज्ञासाहरू उत्पन्न हुन थाले । यस्तो किन हुन्छ ? सधै एकनास किन हुँदैन ? यो कसले गराइरहेको छ ? खुल्ला आकाशमा बादल कहाँबाट आउँछ र यति ठूलो वर्षा हुन्छ ? यस्ता कुरा सोच्दै जाँदा उनीहरूका मनमा काल्पनिक शक्तिको बीजारोपण भयो । उनीहरूले त्यस शक्तिलाई ईश्वरको रूप दिए । शक्तिशाली ठाने र पूजा गर्न थाले ।
गर्मी भएको बेला शीतलता दिने, पानी आएको बेला ओत दिने, कहिलेकाहीँ फलफूल दिने ठूला ठूला रुखहरूलाई पनि पूजा गर्न थाले । शीतल जल दिने नदीको पूजा गर्न थाले । पछि गएर दुष्टको नाश गर्ने शक्तिशाली व्यक्तिलाई पनि ईश्वरको रूपमा हेरे । यसरी ईश्वर वा चेतनाको विकास भएको हो भनेर भौतिकवादी दर्शन शास्त्रले आफ्नो विचार अघि सारेको हो । आज सुंसारमा जति पनि दर्शनहरू छन् ती सबै यिनै दुई खेमामा विभाजित छन् ।
संसारका जति पनि धार्मिक सम्प्रदायहरू छन् । ती सबैले अध्यात्मवादी दर्शनशास्त्रले अँगालेको विचार बोकेर अघि बढिरहेका छन् । धर्मको माध्यमद्वारा डर पैदा गर्ने, मानिसको दिमागमा अन्धविश्वास भर्दै जाने र आफ्नो शासनसत्ता सञ्चालन गर्न सजिलो हुने हुँदा राजा, महाराजा, सामन्त, धनीमानी व्यक्तिहरूले अध्यात्मवादी विचारलाई आत्मसात् गरेको देखिन्छ । अध्यात्मवादीहरू भौतिकवादी दर्शनशास्त्रलाई नास्तिक, ईश्वर विरोधी, धर्म विरोधी विचारका रूपमा आलोचना गर्ने गर्छन् । अर्कोतिर, भौतिकवादी दर्शनशास्त्र माम्र्सवादको नजिक छ । यसले तथ्यमा विश्वास गर्छ । ईश्वर, देवता, भगवान्, आत्मा, परमात्मा, स्वर्ग, नर्क, बैकुण्ठ, धर्म, कर्मकाण्ड, पूजापाठ, भजन, कीर्तन आदि कुरामा विश्वास गर्दैन र यस्ता कुराको विरोध गर्छ । यी सबै काल्पनिक कुराहरू हुन् भन्ने मान्यता राख्छ । यस यस विचारले धार्मिक कुरालाई ठगीखाने प्रथाका रूपमा लिन्छ । यसरी आज पनि संसारका सबै मानिसहरू यिनै दुई ध्रुवमा विभाजित छन् । सारा संसार यिनै दुई विचारको पक्ष विपक्षमा सञ्चालन भइरहेको छ ।
प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार ९ : १७ बजे
प्रतिक्रिया