काठमाडौँ । सम्भवतः यसै हप्ता जारी हुनसक्ने अपेक्षा गरिएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले सेयर बजार र घरजग्गा कारोबारलाई उचाल्ने गरी लचक नीतिहरु अङ्गिकार गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले तयार पार्दै गरेको मौद्रिक नीतिको समीक्षामा यी दुई सट्टेबजारलाई उचालेर घरेलु अर्थतन्त्र चलायमान बनाउने कोसिस भइरहेको स्रोतको दाबी छ । यसले सेयर बजारमा केही नियामकीय लचकता अपनाउने र विशेषगरी आवासीय घरहरुको कारोबारलाई प्रबद्र्धन गर्ने नीति लिन लागिएको बुझिएको छ ।
वास्तवमा भन्ने हो भने बैंक तथा वित्तीय संस्थाहरु अहिले लगानी गर्ने क्षेत्र नभएर समस्यामा परेका छन् । आर्थिक वर्ष सुरु भएको साढे ४ महिना बित्दा पनि कर्जामा अपेक्षित सुधार हुन सकेको छैन । यही कारण आफूहरुले घरजग्गा र सेयर बजारलाई बढावा दिने गरी ‘अल्पकालिन लचकता’ अघि सार्न आग्रह गरेको उनीहरु बताउँछन् ।
उता अर्थ मन्त्रालयले पनि सट्टेबजारहरुलाई चलायमान पार्न अहिलेभन्दा अझ खुकुलो मौद्रिक नीति आवस्यक भएको भनेर केन्द्रिय बैंकमाथि दबाब बढाइरहेको अधिकारीहरुले बताएका छन् । तर पछिल्लो समय सेयर जार बढ्न नसक्नु र घरजग्गामा कसिएको अर्थतन्त्रको गाँठो नफुक्नुले उनको लोकप्रियतामा जोखिम निम्तिनसक्ने संकेत सामाजिक सञ्जालमा देखिएको छ । इतिहासकै बलियोमध्येको एक सरकार भएर पनि अर्थतन्त्रलाई ‘तरल’ अवस्थामा फर्काउन नसकेको भनेर आलोचना भइरहेको छ ।
बैंकको ब्याज लगातार घटेर निकै तल्लो स्तरमा झरिसकेको बेला पनि लगानी गर्ने उत्प्रेरणा नबढेपछि छोटो समयका लागि भए पनि निकै लचक प्रावधान अघि सार्न खोजिएको सरकारी अधिकारीहरु बताउँछन् ।
अहिले घरजग्गामा अड्किएको ‘गाँठो’ नफुकाएसम्म विद्यमान आर्थिक समस्या नसल्टिने जानकार बताउँछन् । त्यसै कारण घरजग्गाको मूल्य अझधेरै सस्तिनका लागि भनेर लामो समय कुरिरहन नसकिने उनीहरुको बुझाइ छ । बैंकरहरु पनि जग्गाको कारोबारले रफ्तार नलिएसम्म अहिलेको वित्तीय समस्या समाधान नहुने बताउँदै आएका छन् ।
तर आयोगका पदाधिकारीहरुले भने जग्गामा नभएर ‘हाउजिङ’का सन्दर्भमा चाहीँ बढी लचक नीति अपनाउन आग्रह गरेको छ । घरको कारोबारलाई बढाउन सके यसले निर्माण क्षेत्र र त्यसमा निर्भर जनशक्तिलाई पनि सक्रीय पार्न सकिने सरकारी अधिकारीहरुको भनाइ रहँदै आएको छ ।
त्यति हुँदा हुँदै पनि अवकाशको क्षणमा पुगेको गभर्नर महाप्रसाद अधिकारी र उनको सञ्चालक समितिले कस्तो नीति अङ्गिकार गर्छ भन्ने कुरा नै महत्वपूर्ण हुने कुरामा दुईमत छैन ।
प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार ४ : ३४ बजे
प्रतिक्रिया