एमालेमै फर्किए विभाजित कर्मचारी संगठनका अध्यक्षसहितका पदाधिकारी : ​​​​माधवलाई ठूलो धक्का

​​​​​​​काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट नेपाल निजामति कर्मचारी संगठनका अध्यक्षसहितका पदाधिकारी र सदस्य एमाले निकट मूल संगठनमै फर्किनुभएको छ  । एमाले विभाजनलगत्तै नेपाल कर्मचारी संगठन विभाजित भएको थियो । विभाजित भएको संगठनका अध्यक्ष रेवन्त गौतमसहित वरिष्ठ उपाध्यक्ष मोहन गिरी र अधिकांश पदाधिकारीसहित सो संगठन नेपाल निजामति कर्मचारी संगठनमा विलय भएको हो ।

एस निकट संगठनका संस्थापक अध्यक्ष गौतम, वरिष्ठ उपाध्यक्ष मोहन गिरी, उपमहासचिव रामचन्द्र अधिकारी, सचिव ओम कठायत एमाले निकट संगठनमै फर्किनुभएको हो ।

त्यस्तै केन्द्रीय सदस्यहरु अमर गिरी, पदमराज जोशी,रामचन्द्र पण्डित, शान्ति विष्ट, लक्ष्मी योगी, अमृता रावत, जयदेश जोशी लगायत २१ जना केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा विभागीय सदस्यसमेत ३०१ जनाले नेकपा एस परित्याग गरी एमालेमै फर्किनुभएको हो  ।  संगठनका सबै पदाधिकारी एमालेमा फर्किएपछि माधव नेपाललाई ठूलो धक्का लागेको छ ।

नेपाल निजामति कर्मचारी संगठन ११ औं राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक केदार प्रसाद देवकोटा र एकीकृत समाजवादीनिकट संगठनका अध्यक्ष तथा हाल सचिवालय सदस्य गौतमले संयुक्त विज्ञप्ति जारी गर्दै यही माघ १४ र १५ मा हुने महाधिवेशन सम्पन्न गर्न आह्वानसमेत गर्नुभएको छ । 

 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ४ : ३८ बजे