“जबसम्म राजनीतिमा भ्रम बिक्छ र टिक्छ तबसम्म राजनीतिमा अराजकता र स्वछन्दता स्वभाविक बन्छ र जनता झुक्याउन अराजक र स्वछन्द जमात सफल भइरहन्छन्।” हामीले निकट विगतको प्रचण्डको नेतृत्वमा भएको ‘रातो क्रान्ति’ र वर्तमानमा रविको अगुवाइमा भइरहेको निलो क्रान्तिलाई उदाहरणको रूपमा लिन सक्छौं। तर यो सत्य आम जनसाधारणलाई बुझाउने काम भइरहेको छैन्। जसका कारणले जनता भ्रमित र खराब भाष्यको जालमा परिरहेका छन् अनि देशलाई पछाडि पार्ने राजनीति र नेतृत्वको चर्चामा रमाइरहेका छन्।
अतिवाद वामपन्थी होस् कि दक्षिणपन्थी त्यो सधैं शान्ति र समृद्धिसहितको अग्रगमन अर्थात परिपूर्ण लोकतन्त्रका लागि बाधक हुन्छ। अहिले यी दुई अतिवाद एउटा रातो झण्डा बोकेर प्रचण्डको नेतृत्वमा त अर्को निलो झण्डा लुकाएर राष्ट्रिय झण्डा बोकेर रविको नेतृत्वमा सडकमा देखिएका छन्। अनि यसले एकले अर्कोलाई अघोषित रूपमा सघाउने काम पनि गरिरहेका छ। स्पष्ट भाषामा भन्दा उनीहरू यतिबेला अघोषित सहकार्यमा रहेका छन्।
लोकतन्त्र अर्थात कानुनी शासनमा खराब दण्डित र असल पुरस्कृत हुनुपर्छ न कि भीडतन्त्रको साहारा लिएर खराबलाई जोगाउने राजनीतिको पक्षमा उभिने। लोकतान्त्रिक प्रणालीमा विधि र नीति प्रधान हुन्छ भने नेतृत्व सहयोगी बन्नुपर्छ किनभने नेतृत्व सेवक हो मालिक होइन। लोकतन्त्रले सधैं कानुनी राज खोज्छ र कानुनी प्रक्रिया रोज्छ, भीडको आवाज र दबाबमा प्रभावित हुँदैन।
आँखा चिम्लिएर सोच्न सकिन्छ, देख्न सकिन्न। सोच्नका लागि दिमाग त देख्नका लागि चक्षु चाहिन्छ। यतिबेला हामीलाई त्यही सोच्न सक्ने दिमाग र देख्न सक्ने चक्षु चाहिएको छ। हामीमा यो खालको क्षमता विकास गर्ने शिक्षा आजको आवश्यकता हो। तर यो आवश्यकता हामीले महसुस गर्न सकिरहेका छैनौं। त्यसैले त यथास्थितिमा खराब पात्रको नेतृत्वमा परिवर्तन खोजेर सीमित श्रोतसाधन र बहुमुल्य समय खेर फालिरहेका छौं। परिणामस्वरूप हामी विचारहीन राजनीति, चरित्रहीन र रहस्यमयी पात्रलाई महान बनाएर अघि लगाएर आफ्नो मौलिकता अर्थात पहिचान छोडेर सुशासन र प्रगति खोजिरहेका छौं।
हामीले नयाँ राजनीतिको नियत र पुरानो राजनीतिको क्षमता चिन्नै सकेनौं। उनीहरू किन र कसको प्रेरणामा राजनीतिमा आए जान्ने बुझ्ने प्रयत्न नै गरेनौं किनभने हामी सत्यतथ्य बुझ्ने र पृष्ठभूमि जान्ने भन्दा भ्रमित र खराब भाष्यमा रमाउने भयौं। हामी नेपालीको भ्रमित र आक्रोशित मनस्थितिलाई उनीहरूले आफ्नो राजनीतिक आधार बनाएर गतिविधिहरू गरिरहेका छन्।
उतिबेला देश प्रचण्डको रातो क्रान्ति अर्थात हतियार अनि ज्ञानेन्द्रको दरबारका कारणले पीडित वा समस्यामा थियो। ऊ डिभी परेपछि देशलाई सराप्दै नागरिकता त्यागेर स-परिवार अमेरिका हानिएको थियो। उसले अमेरिकामा गर्न हुने नहुने जे पनि गर्यो, परिवार बिगार्यो सन्तानलाई बिचल्लीमा पार्यो अनि अमेरिकामा कानुनी कारवाही छल्न भागेर नेपाल आयो। नेपाल आएपछि त्यागेको नागरिकता देखाएर अमेरिकी नागरिकता लुकाएर देशलाई ढाँट्दै कानुनविपरीत हुनेगरी के के पो गरेन र! त्यसपछि राजनीतिक आवरणमा आफू कानुनी कारवाहीबाट जोगिन राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोलेर राजनीतिमा आयो। यो सत्य बुझ्ने र भन्ने चेष्टा हामीमा भएन।
त्यतिबेलासम्म ऊ नेपाली हो कि अमेरिकी नागरिक के हो उसले स्पष्ट भनेन। देशलाई ढाँट्यो। तैपनि निर्वाध रूपमा दलीय गतिविधिमा संलग्न भयो, चुनाव जित्यो, सांसद र उपप्रधान तथा गृहमन्त्री पनि भयो। अनि बल्ल थाहा भयो, ऊ त नेपाली नागरिक नै रहेनछ। उसको सांसद र मन्त्री पद दुबै गयो। यो अदालतबाट प्रमाणित भएको सत्य हो, फैसला मात्र होइन। त्यो पात्र रवि लामिछाने हो। उसले देशलाई ढाँटेर अमेरिकी नागरिकता लुकाएर कुन नियतका साथ राजनीतिमा आएको थियो? हामीले प्रश्न गरेनौं उल्टो उसलाई नै महान बनाएर समर्थनमा हामियौं। हाम्रो यो कमजोरीलाई उसले खराब भाष्यको जगमा आफ्नो हतियार बनायो।
यसबाट हामीले बुझ्नुपर्छ, ऊ असल नियतका साथ नेपाल फर्केको थिएन। राजनीतिमा पनि बदनियतका साथ आएको थियो। अचम्मको कुरो त एउटा विदेशी नागरिक भएर पनि ऊ देश र जनतालाई झुक्याउँदै सांसदमात्र भएन, उपप्रधान तथा गृहमन्त्री समेत भयो। यो भन्दा बढी लज्जाको विषय के हुनसक्छ? तर यो सत्यलाई छाँयामा पार्न पढेलेखेका विदेशी ज्वाईं र बुहारीहरू जोडबलले लागेका छन्। अनि कति नेपालीहरू भ्रममा परेर भावनात्मक रूपमा भड्किएर ‘ऊ माथि राजनीतिक प्रतिशोध’ भो भन्दै सडकमा देखिएका छन्। यो घटनाले हामी नेपालीको बौद्धिक क्षमता र राज्य संयन्त्रको योग्यताको स्तर देखाएको छ।
“समय एक मात्र त्यस्तो मुद्रा हो जुन हामीले ब्यालेन्स नै थाहा नपाई बर्बाद गरिरहेका छौं।” यतिबेला यो भनाई र हाम्रा काम गराई मिलेको देखिन्छ। मान्छे एउटा रोटीका लागि मात्र होइन, स्वाभिमानका लागि पनि बाँच्नु पर्छ। जीवनका लागि रोटी आवश्यक छ, पर्याप्त होइन। रोटी जरूरी छ, काफी होइन। किनभने मान्छेलाई रोटीसँगै अरू वस्तु पनि चाहिन्छ, वातावरण चाहिन्छ, विचार चाहिन्छ, प्रगतिको मानसिकता चाहिन्छ। हाम्रो सन्दर्भमा वैचारिक राजनीति, चारित्रिक नेतृत्व, राजनीतिक स्थिरता र संवैधानिक गतिशीलता अनि सुशासनसहितको समृद्धि चाहिएको छ।
नागरिकले व्यक्तिको खुसी खोज्छ भने नेतृत्वले समाजको खुसी। तपाईं के हो, नागरिक कि नेतृत्व? छुट्याउनुहोस् अनि त्यहीअनुसार भूमिका निभाउनु होस्। नागरिक हो भने आफ्नो खुसीका लागि सकारात्मक ढंगले सक्रिय हुनुहोस् नेता हो भने नागरिक अर्थात समाजका खुसीका लागि काम गर्न थाल्नुहोस्। यदि नेतृत्वले नागरिकको खुसी खोज्दैन भने त्यो नेता होइन। ऊ अभिनेता हो। आज तिनै अभिनेताहरूले भ्रमित भाष्यको जगमा राजनीतिलाई अघि बढाउन खोजेका छन्। बहर अर्थात बालेन, हर्क र रविहरूमा अभिनेताको चरित्र देखिएको छ। जुन सर्वसाधारण नेपालीहरूले बुझिरहेका छैनन् किनभने नेपालीहरू आवेगमा छन् र विवेक प्रयोग गरिरहेका छैनन्। जसका कारणले बहरहरूको मनोबल बढेको छ।
यतिबेला रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको अभियोगमा न्यायिक हिरासतमा छन्। तर रास्वपाका नेताहरू दिउँसो रविमाथि राजनीतिक प्रतिशोध भो भन्दै सडकमा जनता उराल्छन् त साँझ परेपछि प्रधानमन्त्री, गृहमन्त्री र सत्ताधारी दलका अन्य नेताहरूसँग रवि लामिछानेको रिहाइका लागि भेट गरेर हारगुहार गरिरहेका छन्। यसबाट स्पष्ट हुन्छ, रवि अर्थात रास्वपा अर्थात नयाँ राजनीतिको नियत। रविका बारेमा मौन बसेर बालेन र हर्कहरूले पनि जनता झुक्याईरहेका छन् किनभने सहकारी ठगी र संगठित अपराधजस्तो गम्भीर अभियोगमा पक्राउ परेका पात्रका बारेमा पक्ष वा विपक्षमा नबोल्नु पनि जनतालाई झुक्याउने राजनीति गर्नु हो।
आज हामीले बुझ्नुपर्छ, “नकारात्मक मनोविज्ञानले कहिल्यै पनि सकारात्मक जीवन खोज्दैन्। उसले नकरात्मकतामा आफ्नो उन्नयन खोज्छ।” अहिले बहरहरू त्यही नकारात्मकतासहितको भ्रमित र खराब भाष्यको जगमा आफ्नो राजनीतिक उन्नयन खोजिरहेका छन्। उनीहरूलाई जनताको स्वाभिमान र सम्प्रभुता अनि देशको स्वाधीनतासँग कुनै मतलब छैन्। उनीहरू त बाह्य पक्षले बोकाएर पठाएको मुद्दाका आधारमा राजनीतिक गतिविधिहरू गरिरहेका छन्। किनभने बाह्य शक्ति नेपालमा राजनीतिक स्थिरता, संवैधानिक गतिशीलता र सुशासनसहितको समृद्धि चाँहदैन। त्यहीअनुसार उनीहरूले सहयोग गरिरहेका छन्, त्यही सहयोगमा बहरहरूले “नो नट एगेन”को नारा लगाएका थिए। जसमध्ये रविको त नेपाली नागरिकतासमेत रहेनछ।
उता पूर्वतिर हर्क साम्पाङ जो धरानका मेयर पनि हुन, उनी जातीय पहिचानको मुद्दा बोकेर हिंडेका छन्। यता काठमाडैका मेयर बालेनले आफ्नो राजनीतिक धार स्पष्ट नपारेतापनि लोकतान्त्रिक गणतन्न्त्रको विपक्षमा देखिन्छन्। रविको त माथि नै चर्चा भइसक्यो, देखिदा उनी त अपराधबाट जोगिन अमेरिकाबाट नेपाल आए भने सञ्चार क्षेत्रमा संलग्न हुँदा गरेका अपराधबाट आफूलाई जोगाउन राजनीतिमा आएको देखिन्छ। उनको बोली र शैली युक्रेनका भोलिदिमिर जेलेन्स्कीसँग धेरै मिल्छ। तर बहरहरूका बारेमा जनतालाई अन्यौलमा राखेर परिस्थितिलाई अराजक बनाउन खोजेको घट्नाहरूबाट पुष्टी हुन्छ।
त्यसैले यतिबेला राजनीतिक रूपमा साक्षर र सचेत बौद्धिक जगतले पुरानो र नयाँ राजनीतिको चरित्र र राजनीतिक नेतृत्वको पृष्ठभूमि, उद्देश्य र गन्तव्य तुलनात्मक रूपमा विश्लेषण गरेर जनतालाई बुझाउनु पर्छ। खराब भाष्य र पात्रहरूबाट नेपालको राजनीति मात्र होइन देशको स्वाधीनतासमेत जोगाउन सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ न कि प्रा. डा. सुरेन्द्र केसीहरू जस्तै अराजक र स्वछन्दहरूको पक्षमा उभिने। राजनीतिको चरित्र ठीक भएन त्यसले अन्ततः देशको चित्र नै गोलमाल पारिदिन सक्छ। जसरी युकेनमा जेलेन्स्कीले युक्रेनको चित्र बिगार्दैछन्। अहिले अमेरिकाको राजनीतिमा डोनाल्ड ट्रम्पको दमदार पुनरागमन हुने भएपछि जेलेन्स्की आत्तिएका छन् जसरी नेपालमा रवि सहकारी ठगी र संगठित अपराधको गम्भीर अभियोगमा पक्राउ परेपछि आत्तिएका थिए। नयाँको नाममा नेतृत्वको नियत बुझिएन भने नेपाली जनताको नियति युक्रेनीयनहरूको जस्तै हुनेछ।
चेतना भया!
प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार ३ : ४६ बजे
प्रतिक्रिया