दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

दोलखामा सङ्क्रमित वृद्धि

दोलखा – जिल्लामा अहिलेसम्मकै सर्वाधिक ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालको पिसिआर प्रयोगशालामा २०० जनाको स्वाँव परीक्षण गरिएकामा सो सङ्ख्यामा पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौड्यालका अनुसार  ती सङ्क्रमित मध्ये ५६ पुरुष र  २९  महिला  छन् ।  हालसम्म जिल्लामा दोस्रो लहरको कोरोनाका ४१० सक्रिय सङ्क्रमित रहेका  कार्यालयले जनाएको छ । जिल्लामा थप १५ दिन निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदैगएपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रमा भएको छलफल पछि स्थानीय प्रशासनले यही जेठ १५ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको समयमा विवाह, ब्रतबन्ध, कुलपुजा लगायतका भिडभाड हुने सबै कार्यक्रम गर्न रोक लगाएको प्रमुख जिल्ला  अधिकारी बासुदेब घिमिरेले जानकारी दिनुभयो ।

  जिल्लामा कोरोना सङ्क्रमितको संख्यामा बृद्धि हुदै गएपछि स्थानीय तहले सङ्क्रमितको सुरक्षा र सहयोगको लागि बिभिन्न कार्यक्रम घोषणा गरेका छन् ।  भीमेश्वर नगरपालिकाले नगरभित्रका  सङ्क्रमित बिरामीलाई पोषण भक्ता बापत प्रति बिरामी दुई हजार रुपँैया उपलब्ध गराउने निर्णय गरेको छ । त्यसैगरी  सङ्क्रमित बिरामीलाई अन्यत्र उपचारको लागि लानुपर्ने अवस्थामा एम्बुलेन्स खर्च वापत आठ हजार रुपँैया उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख भरतबहादुर केसीले जानकारी दिनुभयो  । सङ्क्रमितको मृत्यु भएको अवस्थामा सामाजिक कार्य गर्न मृतकको परिवारलाई १५ हजार रुपैँया उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो । 

यसैगरी तामाकोसी गाँउपालिकाले  सङक्रमितलाई आवश्यक पर्ने औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । बिरामीलाई आवश्यक पर्ने सबै प्रकारका औषधि घर घरमै पु¥याईने गाउँपालिका प्रमुख इश्वरचन्द्र पोखरेलले जानकारी दिनुभयो ।  सङ्क्रमितको लागि आवश्यक पर्ने भिटामिन सि, मल्टिभिटामिन, सिटामोल, खोकीको औषधि लगायतका औषधिहरु खरीद गरिसकिएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले बताउनुभयो  ।

आपत्कालीन अवस्थामा प्रयोग गर्न सदरमुकाम चरिकोट अस्पतालमा पाँच  एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । चरिकोट अस्पताल सहित च्छो रोल्पा जनरल अस्पताल, सामुदायिक अस्पताल र गजेन्द्र फाउण्डेशनको एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय  प्रमुख पौडेलले जानकारी दिनुभयो  । चरिकोटमा रहेको लालिगँुरास युवा क्लबले भीमेश्वर  ३, चरिकोट गुठि, दोलखा उद्योग बाणिज्य संघ, चरिकोट खानेपानी परिवार लगायतको सहयोगमा चरिकोट अस्पतालमा उपचाररत  सङ्क्रमित बिरामी, बिरामीको कुरुवा र स्वास्थ्यकर्मीहरुलाई यही जेठ १५ गतेसम्म खाना र नास्ताको व्यवस्था गरिरहेको क्लबका अध्यक्ष प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । 

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ७ : १६ बजे