काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् ।
परिसंघको हालै बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुसार पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको परिसंघले जनाएको छ ।
परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार आगामी वार्षिक साधारणसभापछि पाण्डे स्वतः परिसंघको अध्यक्ष बनेका हुन् ।
पाण्डे २०७२ सालदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गर्दै आइरहेका छन् । उनी २०७५ सालदेखि परिसंघको उपाध्यक्षमा कार्यरत थिए ।
तीन दशकदेखि निरन्तर निर्माण उद्योगमा संलग्न पाण्डेसँग सिभिल इन्जिनियरिङ, आवास र सहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दख्खल राख्दछन् ।
पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन् । उनी हरित सामग्री निर्माण, कृषि तथा शिक्षा क्षेत्रमा समेत सक्रिय छन् ।
प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार ११ : ५१ बजे
प्रतिक्रिया