राष्ट्रपति भवनमा घटस्थापना

कोरोना बढेपछि पुम्दीकोटमा लगाउने भनिएको महायज्ञ स्थगित

पोखरा । पछिल्लो समय धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित हुँदै गरेको पोखराको पुम्दीकोटमा विशाल शिव मूर्ति निर्माणको चरण चलिरहेको छ ।

४० करोड लागत स्टिमेट गरेर काम थालिएको यहाँ पैसा अभाव भएपछि ८ माघदेखि महायज्ञ लगाउने तयारी थियो । १८ माघसम्म हुने भनिएको महायज्ञ तत्कालका लागि स्थगित गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि प्रशासनको आग्रहमा महायज्ञ रोकिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिनुभयो । “मूर्तिभन्दा ठुलो कुरा मानवको स्वास्थ्य हो । भेला हुने कार्यक्रम नगर्न सरकारले भनेको छ,’ उहाँले भन्नुभयो, “अहिलेलाई महायज्ञ नहुने भयो । अर्को कार्यक्रम सहज भएपछि घोषणा गर्छौँ ।”

अर्को सूचना जारी नहुन्जेल सम्मको लागि उक्त महायज्ञ स्थगित भएको उहाँले बताउनुभयो । कोरोना सङ्क्रमण दर घटेर केही सहज हुन साथ उक्त महायज्ञ हुने समितिले जनाएको छ ।

मूर्ति र अन्य पूर्वाधार बनाउन हालसम्म २० करोडभन्दा बढी खर्च भइसकेको छ । पौने चार करोड हाराहारीमा ऋण रहेको निर्माण समितिले जनाएको छ ।

समितिले सहकारीबाट एक करोड रुपैयाँ ऋण निकालेको छ भने अरू रकम स्थानीयसँग सापट मागेर चलाएको बताएको छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ११ : ३२ बजे