भारतमा एकै दिन एक लाख ९४ हजार जनामा कोभिड सङ्क्रमण

नयाँ दिल्ली । भारतमा कोभिड सङ्क्रमण तीव्र रूपमा बढिरहेको छ । आज एकै दिन एक लाख ९४ हजार जनामा सङ्क्रमण देखिएको छ । 

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड सङ्क्रमितको सङ्ख्या पनि दिनहुँ बढिरहेको छ । पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण बढेको छ । 

आजको सङ्क्रमण दर अघिल्लो दिनको तुलनामा १५ प्रतिशतले बढेको हो । भारतमा दैनिक सङ्क्रमण दर औसतमा ११ प्रतिशत छ । 

भारतका २७ वटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ । सङ्क्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । १५ देखि १८ वर्ष समूहका दुई करोडभन्दा बढी युवाहरूले पूर्ण खोप लगाएका छन् ।

यसैबीच, रक्षा मन्त्री राजनाथ सिंहलाई कोभिड पोजेटिभ भएको छ । सिंहलाई सामान्य लक्षण देखिएको छ । सङ्क्रमण देखिएपछि उनी घरमै क्वारेन्टिनमा छन् । आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न र कोभिड परीक्षण गर्न उहाँले आग्रह गर्नुभएको छ  ।एजेन्सी

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १० : ०६ बजे