एनपीएलको ट्रफी सार्वजनिक

मन्त्रिपरिषदको बैठक बस्दै

प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई एमाले र कांग्रेस मिलेर सङ्कटमुक्त गर्ने अभियानमा लागेको बताउनुभएकाे छ ।

सोमबार एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै महासचिव पोखरेले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्ने माथि प्रहार हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयाे।

परिषद्का अध्यक्ष बलिभद्र रानाको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै पोखरेलले त्यसको उदाहरण अहिले केपी ओली माथिको प्रहार भएको स्पष्ट पार्नुभयाे ।

‘जसले मुलुकलाई, मुलुकको अर्थतन्त्रलाई सङ्कट पार्दछ, त्यस माथि प्रहार हुँदैन, जसले सङ्कटबाट मुलुकलाई बाहिर निकाल्न खोज्दछ, त्यस माथि कस्तो प्रहार हुन्छ भन्ने भन्ने कुरा अहिले केपी ओली माथि भएको प्रहारले बुझ्न सकिन्छ,’ पोखरेलले भन्नुभयाे।

सर्वोच्च अदालतको फैसलाले शासन गर्ने परिपाटीको सुरुवात भएपछि देशमा समस्या सुरू भएको पोखरेलले बताउनुभयाे । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार रहुञ्जेलसम्म देश आर्थिक संकटमा परेको उहाँले बताउनुभयाे ।

‘जसले गल्ती गर्‍यो, त्यो आलोचनाभन्दा बाहिर छ, जसले गल्ती नै गरेको छैन त्यो आलोचनाको निशानामा छ’, उहाँले भन्नुभयाे।

यसअघिको सरकारका प्रधानमन्त्री र अर्थ मन्त्रीले निर्माण व्यवसायीको रकम भुक्तानी माग नगरेका होइनन् भुक्तानी गर्नुपर्ने छ भनेर दायित्वमा पनि नराखेको पोखरेलले बताउनुभयाे । त्यसको आलोचना गर्नुभन्दा अहिलेको सरकारले त्यो गल्तीलाई सुधार गर्ने र भुक्तानी काग गरिरहेको अहिलेको सरकारको आलोचना हुनु दुर्भाग्यपूर्ण भएको उहाँले बताउनुभयाे।

कतिपय निर्माण व्यवसायीहरूले काम गर्नको लागि लिएको मोभिलाइजेशन फण्ड नाफा कमाउन जग्गामा लगानी गरेको जग्गाको कारोबार संकटमा पर्दा निर्माण व्यवसायी पनि संकटमा परेको पोखरेलले बताउनुभयाे । यसले गर्दा निर्माण कार्य नै रोकिएको उहाँको भनाइ छ। नेपालका निर्माण व्यवसायीले काम गर्न भन्दा पनि ठेक्का पार्न बिलोमा टेण्डर हाल्ने गरेको उहाँले बताउनुभयाे । यसले गर्दा गुणस्तरीय काम पनि नहुने र निर्माण व्यवसायी पनि डुब्ने गरेका पोखरेलले बताउनुभयाे ।

त्यसैले निर्माण व्यवसायीलाई राज्यले तय गरेको काम गर्न साझा आचारसंहिता बनाएर स्वच्छ प्रतिस्पर्धा गर्न उहाँले सुझाव दिनुभयाे । अहिलेको समय निर्माण क्षेत्रलाई स्वर्ण युग बनाउन सक्ने युग भएको पोखरेलले बताउनुभयाे ।

नेपालमा औपचारिक भन्दा अनौपचारिक अर्थतन्त्र अत्यन्त शक्तिशाली भएको पोखरेललेको भनाइ छ। नेपाली गरिब होइन नेपाल राज्य गरिब भएको उहाँले बताउनुभयाे ।

नेपालमा जति बाह्य पर्यटक आएर खर्च गर्छन्, त्यो भन्दा बढी नेपालबाट विदेश गएर गर्नेहरूको खर्च भएको उहाँले बताउनुभयाे । त्यसैले नेपाली गरिब नभएकाे उहाँको धारणा छ। नेपालमा निर्माण क्षेत्र लगायत विभिन्न क्षेत्रमा दक्ष कामदारको अभाव रहेको बताउँदै उहाँले दक्ष जनशक्ति निर्माणमा जोड दिनुपर्ने बताउनुभयाे ।

नेपालसँग पर्याप्त सामर्थ्य भए पनि त्यो सामर्थ्यको प्रयोग गर्ने राज्यलाई कमजोर बनाइएको पोखरेलको भनाइ छ। देश बनाउन नेता मात्र होइन जनता पनि लाग्नु पर्नेमा उहाँले जोड दिनुभयाे ।

‘देश बनाउने हो भने हामी जनता पनि देश बनाउने बाटोमा हिँड्नु पर्‍यो, पार्टीलाई गाली गरे मात्रै देश बन्दैन, नेतालाई गाली गरेर मात्रै देश बन्दैन,’ उहाँले भन्नुभयाे ।

कार्यक्रमका बोल्दै पोखरेलले राजनीतिक अस्थिरताका कारण देश समस्यामा परेको बताउँदै त्यसलाई सुधार्न दुई ठूला दल सरकारमा गएको बताउनुभयाे । त्यसको लागि सबैभन्दा पहिला निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयाे ।

नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन नयाँ हिसाबले अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो। जुन ट्र्याकबाट देश चलेको छ, त्यसबाट अघि बढ्न सक्ने स्थिति नभएको पोखरेलले स्पष्ट पार्नुभयाे । तर कर्मचारीतन्त्र ट्र्याक बदलेर हिँड्न अझै तयार नभएको उहाँको धारणा छ।

एमाले स्थायी कमिटी सदस्य एवम् जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले जनसंगठनमा परेको समस्या समाधानमा एमाले लाग्ने बताउनुभयाे । लामो समयपछि बलियो सरकार बनेको र यो सरकारको बदनाम गराउन केही तत्त्व लागेकाले यसमा सचेत हुनु पर्नेमा उहाँले जोड दिनुभयाे ।

राज्यको तर्फबाट भएका कमीकमजोरी भएमा हटाउने र निर्णय व्यवसायीहरूले पनि कमजोरी हटाउनु पर्ने उहाँको भनाइ छ। केही निर्माण व्यवसायीका कारण नेपालको निर्माण क्षेत्र बदनाम भएको तर्फ सचेत हुन उहाँले आग्रह गर्नुभयाे ।

एमालेका केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात विभागका पूर्वप्रमुख डा. कृष्णबहादुर केसीले निर्माण व्यवसायमा समस्या आउँदा सबै क्षेत्रमा समस्या आउने गरेको बताउनुभयाे । नेपाल उद्योग तथा व्यवसायी महासंघका महासचिव बालकृष्ण शिवाकोटीले एमालेको सरकार बनेको बेलामा धेरैतिर निर्माणका काम सुरु हुने र एमालेको सरकार गिरेपछि निर्माण व्यवसायमा समस्या नै समस्या आउने गरेको बताउनुभयाे ।

सरकारलाई सहयोग गर्दै समस्या समाधान गर्न लाग्नुपर्नेमा उहाँले जोड दिनुभयाे । लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष होमनाथ कोइरालाले निर्माण व्यवसायीहरूको हितमा मिलेर काम गर्नुपर्ने बताउनुभयाे। सरकार र निर्माण व्यवसायी दुवैको कारण निर्माण कार्यमा समस्या भएको उहाँको धारणा छ।

निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले व्यवसायीहरूले भुक्तानी नपाएको कारण मार्कामा परेकाले पार्टीको तर्फबाट सरकारसम्म सो कुरा पुर्‍याउन आग्रह गर्नुभयाे । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य, केन्द्रीय सदस्यहरू जीवन गौतम, गीता कार्की अन्य दलका निर्माण व्यवसायी संघ संगठनका प्रतिनिधि लगायतको सहभागिता थियो।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ४ : २२ बजे