राष्ट्रपति भवनमा घटस्थापना

कोरोना महामारीका कारण दाङमा यस वर्ष माघी मेला स्थगित

दाङ । दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको माघी मेला यस वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको छ । 

दाङको घोराही १३ को बाह्रकुने दह र लमही ९ स्थित बगारबाबा धार्मिक स्थल रिहारमा यस पटक मेला नलाग्ने भएको हो । 

बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको निर्णय अनुसार दहमा मेला स्थगित गरिएको जानकारी दिनुभयो।

सङ्क्रमण दर बढेको र सरकारले समेत २५ जनाभन्दा बढी भिडभाड हुन तथा मेला महोत्सव गर्न रोक लगाएको हुँदा मेला स्थगित गरिएको उहाँले जानकारी दिनुभयो । धार्मिक स्थल समेत भएकाले मन्दिरमा पूजाआजा भए पनि मेला भने नहुने उहाँले जानकारी दिनुभयो । 

मन्दिरमा पूजा गर्नका लागि प्युठान, रोल्पा, रुकुमबाट दैनिक झन्डै तीन सय मानिसहरू आउने गरेका छन् ।मन्दिरमा भेडाको बली दिइने र परेवा उडाइने गरिन्छ ।

यस्तै लमहीको रिहारमा रहेको तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङ लगायत भारतबाट पनि भक्तजन आउने गर्दछन् । त्यहाँ पनि दैनिक मानिसहरूको भिडभाड र जमघट हुने गर्दछ । तर यस वर्ष मेला स्थगित गरिएको बताइएको छ । 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ७ : १७ बजे