राष्ट्रपति भवनमा घटस्थापना

लिपुलेकमा भारतले सडक बनाएको प्रति एमालेको आपत्ति

काठमाडौँ । नेकपा एमालेले नेपाली भूभाग लिपुलेकमा भारतले सडक संरचना निर्माणलाई तीव्रता दिइरहेको प्रति  आपत्ति जनाउँदै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेले उक्त सडक विस्तार कार्य कूटनीतिक मर्यादा विपरीत भएको भन्दै तत्काल रोक्न  माग गरेको छ ।

एमालेले आज एक विज्ञप्ति जारी गर्दै ‘नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीचमा थाँती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउने भनी गरिएको सहमति विपरीत भारतीय पक्षबाट उक्त नेपाली भूभागमा सडक सहितका संरचना निर्माणलाई तीव्रता दिइरहेकोप्रति  गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको हो ।

एमाले परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा  कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभाग रहेको भन्दै बलमिच्याइ नगर्न भारतसँग आग्रह गरेको छ ।

गत  वर्ष नै राजनीतिक–प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत नेपालले यस विषयमा आफ्नो कानुनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै रहेको भन्दै ती भूभागहरू फिर्ता गराउन र तिनमा नेपालको भोग चलन सुनिश्चित गर्न नेपाल सरकारले विगतमा कूटनीतिक पहल सुरु गरेको एमालेले उल्लेख गरेको छ ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द गर्नु पर्ने एमाले जनाएको छ । सडकलगायत संरचना तत्काल रोक्न आग्रह गर्दै एमालेले वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्ने बताएको हो । 

एमालेले राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा पनि वर्तमान सरकारको मौनता सन्देहास्पद रहेको भन्दै सरकारको मौनताले अनेकौँ प्रश्न जन्माएको बताएको छ ।''हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबै खाले बलमिचाइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ'', विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ४ : ५८ बजे