काठमाडौं । काठमाडौंको सिनामंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका व्यक्तिहरू श्रीमानश्रीमती रहेको खुलेको छ।
सिनामंगलस्थित एक होटलको चौथो तलाको बरण्डामा आइतबार बिहान साढे ७ बजे दुई जना झुण्डिएको अवस्थामा फेला परेका थिए।
प्रहरीले होटलबाट दुवैको पासपोर्ट फेला पारेको थियो।
मृतक सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङकी २९ वर्षीया शर्मिलाकुमारी माझी रहेको खुलेको हो ।
दुई जनाको पहिचान खुलेसँगै प्रहरीले परिवारलाई सम्पर्क गरेको थियो। परिवारले प्रहरीलाई उनीहरु छोरा–बुहारी हो भनेर भनेको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार उनीहरु दुबैजना शनिबार मात्रै क्यानडाबाट काठमाडौं आएको पनि खुलेको छ ।
उनीहरू दुबै जना शनिबार साँझ पौने ७ बजे होटलमा पुगेका थिए। उनीहरू कोठा नम्बर १२० मा बसेका थिए।
दुबै जना बरण्डाको रेलिङमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरीले घटनास्थलबाट नोट फेला पारेको छैन। मृत्युको कारण खुलिसकेको छैन।
घटनास्थलमा प्रहरी वृत्त गौशाला, प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ। अहिले फरेन्सिक टोली पनि पुगेर अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार २ : ४९ बजे
प्रतिक्रिया