काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध एमालले जागरण सभा आयोजना गरेको बताउनुभयो ।
नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले देशका दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र एमाले मिलेर राष्ट्रलाई राजनीतिक निकास दिन लागेको बेला यी खालका षडयन्त्र भएको उहाँले बताउनुभयो । ती षडयन्त्रलाई चिर्न आज जागरण सभा आयोजना गरिएको पोखरेलले स्पष्ट पार्नुभयो ।
एमाले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएकै कारण एमाले माथि आक्रमण भएको उहाँले दाबी गर्नुभयो । ‘हाम्रो पार्टीका विरुद्ध चौतर्फी घेराबन्दी र र आक्रमण हुँदै आएको छ, अहिले हाम्रो पार्टी एमालेलाई समाप्त पार्न अनेक खालका षडयन्त्र भइरहेका छन्’, उहाँले भन्नुभयो ।
नेकपा एमालेलाई पटक पटक विभाजनको प्रयास गरिएका भए पनि कार्यकर्ता पङ्ती चट्टान जसरी उभिएर पार्टीलाई जोगाई अहिलेको अवस्थामा ल्याएको उहाँले बताउनुभयो । नेकपा एमाले विरुद्ध फैलाइएका सबै भ्रमलाई कार्यकर्ताहरूले चिर्दै आएका पोखरेलले स्पष्ट पार्नुभयो ।
एमालेले रेलका कुरा गर्दा कागजको रेल बनाएर उडाउने काम गरिएको बताउँदै उहाँले चीनले र भारतले नेपालमा रेललाई विस्तारको लागि चासो दिएका उहाँले स्मरण गराउनुभयो । ‘हामीले देखेका सपनाहरू नेपालको विकास र समृद्धिका सपना हुन् भन्ने कुरा हामीले प्रमाणित गर्याैँ’, पोखरेलले भन्नुभयो ।
काम एउटाले गर्छ, जस अर्कालाई दिने नेपाली परम्परा बनेको उहाँले टिप्पणी गर्नुभयो । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा विश्वमा उच्च आर्थिक प्रगति गर्ने मुलुकको सूचीमा नेपाल परेको भए पनि उहाँको खुट्टा तान्ने काम भइरहेको उहाँले बताउनुभयो । ‘देश बनाउने पार्टी एमाले हो, काम गर्नेलाई काम गर्न देऊ भन्न सक्नु पर्दछ, तब मात्र देश बन्दछ’, पोखरेलले भन्नुभयो ।
नेपालमा सबै प्रकारका सङ्कटको समाधान एमालेबाट मात्र सम्भव भएको पोखरेलले बताउनुभयो । ‘केपी ओली नेतृत्वमा बनेको अहिलेको सरकार नेपालको अहिलेको सङ्कट समाधानको लागि बनेको सरकार हो’, उहाँले भन्नुभयो ।
राजनीतिक अस्थिरताको कारण नेपालको विकास हुन नसकेको उहाँले बताउनुभयो । देशको विकास र समृद्धिका लागि राजनीतिक स्थिरता, स्पष्ट दृष्टिकोण, बलिया राजनीतिक दल आवश्यक पर्ने उहाँले प्रष्ट पार्नुभयो ।
नेकपा एमालेसँग जोडेर विभिन्न प्रचार गरिएको बताउँदै उहाँले त्यसमा एमालेको कुनै संलग्नता नरहेको उहाँले उहाँले स्पष्ट पार्नुभयो । एमाले माथि जोडिएका सबै विषयका छानबिन गर्न पनि उहाँले चुनौती दिनुभयो ।
अराजकताका विरुद्ध केपी ओली दह्रोसँग उभिएका कारण उहाँलाई बदनाम गराउने खेतीपाती गरिएको पोखरेलले टिप्पणी गर्नुभयो । उनीहरूको यो खेती नटिक्ने पनि पोखरेलले दाबी गर्नुभयो । ‘नेकपा एमाले जनाको हृदयमा छ, राष्ट्रको हृदयमा छ’,पोखरेलले भन्नुभयो । नेपाली समाजमा केही व्यक्तिहरू जे कुरालाई पनि षडयन्त्रको जालो रच्ने खेलमा लागेका उहाँले बताउनुभयो । कम्बोडियामा भइरहेको कार्यक्रममा एमालेका नेताहरू भाग लिन जाँदा समेत अनेक खालका कुप्रचार गर्ने काम गरिएको भन्दै पोखरेलले आपत्ति जनाउनुभयो ।
सहकारी छानबिनमा व्यक्ति केन्द्रित नभएर घटना केन्द्रित भएर छानबिन गरौँ भन्ने दल नेकपा एमाले भएको स्मरण गराउँदै उहाँले व्यक्ति केन्द्रित भएर अनुसन्धान गरौँ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले आफैँ अनुसन्धानको दायरामा रहेको बताउनुभयो । त्यसको दोष समेत अहिले एमाले माथि लगाउने काम भइरहेको पोखरेलले सुनाउनुभयो ।
नेकपा एमाले देश बनाउने यात्रामा रहेको बताउँदै पोखरेलले एमाले देश बनाउने स्पष्ट पार्नुभयो । देश बनाउने सन्दर्भमा प्राप्त सबै सुझाव एमालले ग्रहण गर्ने पोखरेलले बताउनुभयो ।
प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार ३ : १० बजे
प्रतिक्रिया