विराटनगर । पार्टी विभाजनकाक्रममा नेकपा एकिकृत समाजवादीतर्फ लागेका मोरङका नेताहरु आज सामुहिक रुपमा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एकिकृत समाजवादीका प्रदेश कमिटी सदस्य रविन नगरकोटीसहित चौध जना आज औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।
नगरकोटी पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पूर्व अध्यक्षसमेत हुनुहुन्छ । यस्तै एकिकृत समाजवादीको जिल्ला कमिटी सदस्य, नेपाल खेलकुद महासंघ समाजवादीको जिल्ला अध्यक्ष तथा नेपाल सितेरियो कराँते महासंघ कोशी प्रदेश कमिटीको महासचिव राम लिम्बुपनि एमालेमा प्रवेश गर्नुभएको छ । उहाँ कराँतेका अन्तर्राष्ट्रिय खेलाडी हुनुहुन्छ । यस्तै जिल्ला कमिटी सदस्य तथा कटहरीका अध्यक्ष युवराज राजवंशी, विराटनगर–७ का वडा कमिटी सदस्य ओम पौड्याल, वडा कमिटी सदस्य वसन्ती परियार पनि एमालेमा प्रवेश गर्नुभएको छ ।
परियार ०७४ र ०७९ मा विराटनगर–७ वडा दलित वडा सदस्यको उम्मेवार हुनुहुन्थ्यो । यस्तै खेलकुद महासंघको समाजवादीका प्रदेश कमिटी सदस्य एवम् मोरङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय खेलाडी दिनेश लाल कर्ण, खेलकुद महासंघ प्रदेश कमिटी सदस्य तथा एथ्लेटिक्सको अन्तर्राष्ट्रिय खेलाडी चन्द्रकला कामत, खेलकुद महासंघ प्रदेश कमिटी सदस्य तथा सुटिङको राष्ट्रिय खेलाडी एवम् प्रशिक्षक कौशल आचार्य, खेलकुद महासंघ प्रदेश कमिटी सदस्य तथा फुटबलका अन्तर्राष्ट्रिय खेलाडी एवम् प्रशिक्षक पारस चौधरी, खेलकुद महासंघ जिल्ला कमिटी सदस्य अनमोल शिवा, खेलकुद महासंघ केन्द्रीय सचिवालय सदस्य एवम् एथ्लेटिक्सको अन्तर्राष्ट्रिय खेलाडी उषा कर्ण चौधरी, खेलकुद महासंघ मोरङका सदस्य तथा नेपाल कबड्डी संघ कोशी प्रदेशको सचिव एवम् राष्ट्रिय खेलाडी तथा प्रशिक्षक बाबुनन्द यादव र एकिकृत समाजवादी विराटगर–७ कमिटी सदस्य नयना श्रेष्ठ नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।
उहाँहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला ईन्चार्ज जीवन घिमिरे, जिल्ला अध्यक्ष बाबुराम कार्कीलगायतका नेताहरुले खादा र टिका लगाएर स्वागत गर्नुभयो ।
पार्टी प्रवेश गर्नेहरुलाई संक्षिप्त संवोधन गर्दै केन्द्रीय सदस्य जीवन घिमिरेले ढिलो चाँडो मुल पार्टीमा प्रवेश गर्नु भएकोमा धन्यवाद दिँदै पार्टीले सबैलाई जिम्मेवारी प्रदान गर्ने बताउनुभयो ।
उहाँले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा नेकपा एमालेबाट मात्र सम्भव भएको भन्दै त्यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट कृयाशील हुनुपर्ने बताउनुभयो । यस्तै जिल्ला अध्यक्ष बाबुराम कार्कीले बिना शर्त नेकपा एमालेमा फर्किएकोमा धन्यवाद दिँदै आवश्यकता अनुसार पार्टीले जिम्मेवारी प्रदान गर्ने बताउनुभयो ।
उहाँले अहिलेको आवश्यकता भनेको स्थानीय तहको उप निर्वाचन भएको भन्दै पार्टीमा फर्किनेहरूलाई ग्रामथानको निर्वाचनका लागि खटिन आग्रह गर्नुभयो ।
एमाले प्रवेश गर्नेहरुको तर्फबाट बोल्दै रविन नगरकोटीले हिजो पार्टी विभाजनका क्रममा एकिकृत समाजवादी तिर लागेपनि देश र जनताको पार्टी नेकपा एमाले मात्रै रहेको महशुष भएपछि पुरानै पार्टीमा फर्किएको बताउनुभयो । उहाँले एकिकृत समाजवादी पार्टी बन्नुको औचित्य नरहेको भन्दै त्यसभित्र पनि निषेध र गुटको राजनीति चरम रहेको बताउनुभयो । ‘हिजो एकिकृत समाजवादी तिर लागेका धेरै साथीहरु एमालेमा फर्किनुहुन्छ, उहाँले भन्नुभयो ‘ धेरैले एमालेमा फर्किने र केहीले स्वतन्त्र बामपन्थी भएर बस्ने बताइरहनुभएको छ ।’
अहिले निष्कृय भएर समाजवादीमा रहनुभएका नेताहरु ढिलो चाँडो एमालेमा नै फर्किनेमा आफु ढुक्क रहेको समेत उहाँले बताउनुभयो ।
प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार १२ : ५७ बजे
प्रतिक्रिया