मन्त्रिपरिषद् बैठक बस्दै

शिक्षाको भविष्यमा राष्ट्रको भविष्य निर्भर हुन्छ।

“शिक्षा राष्ट्रको मेरूदण्ड हो।” (एरिक ए हनुशेक, अमेरिकी अर्थशास्त्री)

वास्तविक रूपमा शिक्षाको भविष्यमा राष्ट्रको भविष्य निर्भर हुन्छ। शिक्षा राष्ट्रको विकासको मुख्य आधार हो भने असल र शिक्षित नागरिक त्यसको पूर्वाधार हो। यसले आर्थिक वृद्धि, गरिबी घटाउन र जनस्वास्थ्यको अवस्था सुधार गर्न मुख्य भूमिका खेलेको हुन्छ। अब हाम्रा अगाडि एउटा प्रश्न उठ्छ, “के शिक्षा विकासको सबैभन्दा महत्वपूर्ण आधार हो?” हो, सैद्धान्तिक रूपमा स्वीकारिएको मान्यता र सत्य पनि यही हो।

१.      उच्च साक्षरता दर भएका देशहरूमा आर्थिक वृद्धि राम्रो हुन्छ।

२.     शिक्षाले नागरिकको मनोविज्ञान सकारात्मक र रचनात्मक बनाउँछ।

३.      शिक्षाले सामाजिक आर्थिक असमानता हटाउन सघाउँछ।

४.     शिक्षाले जनस्वास्थ्य र जनकल्याणको अवस्थामा गुणात्मक सुधार गर्न सक्छ।

५.     शिक्षाले राष्ट्रलाई परिवर्तनशील संसारमा अनुकुलन गर्न सहयोग गर्छ।

६.     शिक्षाले नागरिकहरूमा सीपहरूको विकास गरेर दिगो भविष्य निर्माण गर्न आधार तयार गर्छ।

७.     शिक्षाले वैश्वीक नागरिक बन्न मद्दत गर्छ।

अकल्याण्ड विश्वविद्यालयका अनुसन्धानकर्ता मुहम्मद रसिदले भनेका छन्, “शिक्षाले मानव पुँजी विकास गर्छ, आर्थिक वृद्धिलाई बढावा दिन्छ, सामाजिक प्रगतिलाई बढावा दिन्छ, स्वास्थ्य राम्रो बनाउँछ र असमानता कम गर्छ, द्रुत रूपमा परिवर्तनन भइरहेको संसारमा देशको लचिलोपन र अनुकुलन बढाउँछ।”

शिक्षाको महत्त्वलाई लिएर नेल्सन मण्डेलाले भनेका थिए, “शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो, जसलाई तपाईं संसार परिवर्तन गर्न प्रयोग गर्न सक्नुपर्छ।” दिगो विकासको लक्ष्य हासिल गर्नका लागि शिक्षाको महत्त्व झन बढेको छ। त्यसैले शिक्षा दर्शन र कार्यसँग जोडिएको हुन्छ। यस सन्दर्भमा जापानी हितोपदेश बढी सान्दर्भिक हुन्छ, “कार्य बिनाको दर्शन दिवास्वप्न हो। दर्शन बिनाको कार्य दुःस्वप्न हो।” यी कुराहरू मनन गरेर शिक्षामार्फत असल नागरिक तयार गर्नमा राज्यले नीति बनाउने र लगानी बढाउने लक्ष्य लिनुपर्छ।

हामीले प्लेटोको भनाइलाई मनन गरेर नयाँ शिक्षा व्यवस्थाको विकासमार्फत असल र क्षमतावान नागरिक तयार गर्नुपर्छ। प्लेटो भनेका थिए, “असल मानिसहरूलाई जिम्मेवारीपूर्वक काम गर्न कानुनको आवश्यकता पर्दैन, जबकि खराब मानिसहरूले कानूनबाट बच्ने उपायहरू खोज्छन्।”

हाम्रो शिक्षा व्यवस्था स्तरीय बनाउन हामीले पूर्व प्राथमिक शिक्षादेखि उच्च शिक्षाको चरित्रमा परिवर्तन गर्नुपर्ने भएको छ। तर यसको सुरूवात पूर्व प्राथमिक शिक्षाबाट गर्दै माथिल्लो तहको शिक्षामा आमूल परिवर्तन गर्नुपर्छ। अहिले शिक्षाको सुरूवात मातृभाषाबाट गर्दा एकातिर विद्यार्थीहरूको शैक्षिक उपलब्धि राम्रो हुन्छ भने अर्कातिर हाम्रा पहिचानहरू सुदृढ र बलिया भएर हामी सामाजिक आर्थिक रूपमा बलियो पनि हुन्छौं।

यतिबेला आधारभूत शिक्षामा मातृभाषाको प्रयोग अर्थात बहुभाषिक शिक्षाका बारेमा पैरवीसँगै यसको नमुना कार्यक्रम बनाएर कार्यान्वयनमा जानुपर्ने बाध्यता भएको छ। यसका लागि हामीलाई हाम्रो स्वार्थमा प्राविधिक तथा आर्थिक सहयोग चाहिएको छ। फेरि बहुभाषिक शिक्षाको आवरणमा भइरहेका धर्मान्तरणजस्ता अवाञ्छित गतिविधिहरू रोक्न सबै सरोकारवालाहरू सचेत र सक्षम पनि हुन सक्नुपर्छ। त्यसैले आज हामी समस्यामा होइन, समस्याहरूको समाधानमा केन्द्रीत हुनुपर्ने भएको छ। वास्तवमा राष्ट्रको भविष्य के मा भरपर्छ भन्ने प्रश्नमा केन्द्रीत भएर उत्तरहरू खोज्नुपर्छ।

राष्ट्रको भविष्य धेरै मुख्य कारकहरूमा निर्भर गर्छ। जसमध्ये शिक्षाको भूमिका सबभन्दा बढी हुन्छ किनभने राष्ट्रको विकासका लागि शिक्षित, असल र क्षमतावान नागरिक र नेतृत्व आवश्यक हुन्छ। यहाँ नेतृत्व भन्नाले राजनीतिक, प्रशासनिक, न्यायिक, प्राज्ञिक, सामाजिक तथा धार्मिक नेतृत्वलाई बुझ्नुपर्छ। त्यसैले हामीले राजनैतिक स्थिरता, संवैधानिक गतिशीलता, आर्थिक स्थायित्व, अनुसन्धान र विज्ञान तथा प्रविधिको विकास अनि प्रयोग, स्वास्थ्य सेवाको विस्तार, पूर्वाधारको विकास, प्राकृतिक श्रोतहरूको समुचित प्रयोग, सांस्कृतिक तथा सामाजिक एकता र विश्व सम्बन्ध राम्रो बनाउनु पर्छ। यी कारकहरू एकअर्कासँग अन्तरसम्बन्धित छन्। यसले नै राष्ट्रको भविष्यलाई आकार दिन्छ।

के त्यसो भए शिक्षा राष्ट्र विकासको सबैभन्दा महत्त्वपूर्ण आधार र पाइला हो त? यो लेखकको बुझाइमा शिक्षा राष्ट्र विकासको मुख्य आधार र पाइला हो। शिक्षा राष्ट्र विकासको आधार हो भने असल नागरिक राष्ट्र विकासको पूर्वाधार हो। शिक्षा ठीक भएन भने राजनीति वैचारिक रूपमा स्खलित हुन्छ, नागरिक सांस्कृतिक रूपमा विचलित अनि आर्थिक र चारित्रिक रूपमा पतित अनि नागरिकमा दलाली र बुर्जुवा प्रवृत्ति हावी हुन्छ भने मान्छे नैतिक रूपमा पतन हुन्छ। अहिले हाम्रो समाजमा यही प्रवृत्ति हावी हुँदा अराजक र स्वछन्द जमातको मनोबल बढेको छ। त्यसैले नागरिकलाई राजनीतिक रूपमा साक्षर र नैतिक रूपमा बलियो बनाउन पनि शिक्षामा आमूल परिवर्तन अनिवार्य भइसकेको छ।

शिक्षा नै समृद्ध अर्थात परिपूर्ण लोकतन्त्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने मुख्य माध्यम हो। नयाँ पूसतालाई विचारपूर्वक गतिविधिहरू संलग्न हुन, आलोचनात्मक रूपमा सोच्न, सकारात्मक र रचनात्मक भएर काम गर्न, र विभाजन र शासन नीतिविरूद्ध उभिने बनाउन पनि  शिक्षाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। शिक्षाले देशको भविष्य निर्माणमा नयाँ पुस्ता अर्थात युवाहरूको मनोविज्ञान सकारात्मक बनाउँछ र आफ्नो शक्तिलाई नागरिकको कर्तव्य बुझेर अर्थपूर्ण उपयोग गर्छन्। त्यसैले राष्ट्रको भविष्य शिक्षाको भविष्यमा निर्भर हुन्छ भनिएको हो।

हामीले बुझ्नुपर्छ, “सबैका लागि गुणस्तरीय शिक्षा प्रदान गरी प्रकृति र संस्कृतिको संरक्षण गर्दै दिगो भविष्य निर्माण गर्नुपर्छ।” देश विकासका लागि हाम्रा पहिचानहरू महत्त्वपूर्ण छन्। यसको संरक्षण र सम्बर्धन गर्नका लागि हामीले हाम्रो मातृभूमि, मातृभाषा र संस्कृतिको सम्मान र प्रकृतिको संरक्षण गर्नुपर्छ। यसले हामीलाई सुख प्राप्त गर्ने बाटोमा हिंडाउँछ। वेदले पनि भनेको छ “आफ्नो मातृभूमि, आफ्नो संस्कृति र आफ्नो मातृभाषाको सम्मान गर्दा सुख प्राप्त गर्ने बाटो देखाउँछ।”

भाषालाई लिएर युनेस्कोका महानिर्देशक ऑड्रे अजोलेले भनेका छन्, “जब कुनै भाषाको मृत्यु हुन्छ, त्यो भाषाका माध्यमबाट हामीले संसारलाई हेर्ने, महसुस गर्ने र सोच्ने तरिका गुमाउँछौं।” अर्थात विश्वदृष्टिकोण, ज्ञानको संग्रालय र पहिचान पनि खतम हुन्छ। त्यसैले आधारभूत शिक्षामा मातृभाषाको प्रयोग सुनिश्चित र व्यवस्थित बनाउनु पर्छ। किनभने पहिचान समृद्धिको एउटा बलियो आधार पनि हो। त्यसैले शिक्षा व्यवस्थामा आमूल परिवर्तन अनिवार्य भएको हो।

आँखा चिम्लिएर सोच्न सकिन्छ तर देख्न सकिन्न। सोच्नका लागि दिमाग त देख्नका लागि चक्षु चाहिन्छ। यतिबेला देशलाई त्यही सोच्न सक्ने दिमाग र देख्न सक्ने चक्षु भएको नागरिक चाहिएको छ। हामीमा यो खालको क्षमता विकास गर्ने शिक्षा व्यवस्था आजको पहिलो मुख्य आवश्यकता हो। तर यो आवश्यकता अझै पनि हामीले महसुस गर्न सकिरहेका छैनौं। त्यसैले त हामी यथास्थितिमा अलमलिएर पछाडि परिरहेका छौं।

त्यसैले यतिबेला राजनीतिक रूपमा साक्षर, नैतिक रूपमा इमानदार र सचेत बौद्धिक जगतले पुरानो र नयाँ राजनीतिको चरित्र र राजनीतिक नेतृत्वको पृष्ठभूमि, उद्देश्य र गन्तव्यको तुलनात्मक रूपमा विश्लेषण गरेर जनतालाई वास्तविकता बुझाउनु पर्छ। खराब भाष्य र पात्रहरूबाट नेपालको राजनीति मात्र होइन, देशको स्वाधीनतासमेत जोगाउन सकारात्मक र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ। यसका लागि हामीले शिक्षाको चरित्रमा परिवर्तन गरेर देशको चित्रमा सकारात्मक परिवर्तन गर्नुपर्छ।

नोम चोमस्कीले भनेका छन्, “हामीले नायकत्व खोजेर होइन, असल विचार र तरिका खोजेर समाजमा सकारात्मक परिवर्तन गर्न सक्छौं।” नागरिकमा यो क्षमता विकास गर्न पनि शिक्षामा आमूल परिवर्तन पहिलो सर्त भएको छ। किनभने शिक्षाको भविष्य राम्रो बनाएर मात्रै राष्ट्रको भविष्य राम्रो बनाउन सक्छौं।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ३ : ४१ बजे